Monday 6th May 2024

नयाँ बसपार्कमा भएको लुटपाटमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

1 year अगाडी

काठमाण्डाै – गृह मन्त्रालयले हिजो साेमवार काठमाण्डौको गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ । यातायात व्यवसायी र मजदुरहरूले गरेको प्रदर्शनका क्रममा हिजो ल्हाेत्से मलमा तोडफोड गरी मोबाइललगायतका सामग्री लुट्नेलाई पक्राउ गरी कारबाही गर्न गृह सचिव विनोद सिंहले सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।

नेपाल मोबाइल व्यवसायी महासङ्घले यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ । आज मङ्गलवार महासङ्घले नयाँ बसपार्कमा पत्रकार सम्मेलन गर्दै सोमवार गोङ्गबु नयाँ बसपार्कको ल्होत्से मलमा यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने सङ्गठन र सरकारले दिनुपर्ने माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महासङ्घका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरूका माग सम्बोधन नगरे देशव्यापीरूपमा आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले १५ घण्टा हुँदासम्म सरकार घटनाप्रति मौन बस्नु व्यवसायीहरूको पक्षमा सरकार नदेखिएको आरोप लगाउनुभयो । उहाँले सरकारले पसल लुटपाट पर्नेहरूको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो ।

अध्यक्ष भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताउनुभयो । उहाँले सोमवारको घटनाबाट देशको सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुने भन्दै घटनाको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने बताउनुभयो । उहाँले व्यवसायीहरूले निर्धक्क भएर व्यवसाय गर्ने वातावरण पनि नभएको सन्देश प्रवाह भएको बताउनुभयो ।

त्यस्तै महासङ्घका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले झन्डै ८ देखि ९ करोड रुपैयाँ बराबरको मोबाइल, पैसा र अन्य सामग्रीहरू लुटिएको बताउनुभयो । उहाँले सरकारले घटनाबाट भएको क्षतिपूर्ति दिने विश्वास रहेको बताउनुभयो ।सामान्य व्यवसायीहरूले गरिखानसमेत ठूलो समस्या आएको भन्दै सरकारले व्यवसायलाई सुरक्षित बनाउन नसकेको उहाँकाे गुनासाे छ । उहाँले केही चोरहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएको बताउनुभयो ।

त्यस्तै महासङ्घका महासचिव रमेश घिमिरेले आफ्नो व्यवसाय गरेर जीविकोपार्जन गर्ने सुरक्षित वातावरण नभएको बताउनुभयो । उहाँले यातायात मजदुरहरूकाे आन्दोलनको नाममा पसलहरू लुटपाट गर्ने काम भएको भन्दै घटनाको जिम्मा सरकार वा आन्दोलनकारी दुवैले लिनुपर्ने बताउनुभयो ।

सोमवार ल्होत्से मलमा सञ्चालित पसलहरूका सिसा र शटर फोरेर मोबाइल लुटिएको महासङ्घले जनाएको छ । पसल तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन् । पसलको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ । महासङ्घले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने भएको छ ।

हिजोको अवस्थापछि आज बिहान सरकार र यातायात मजदुरका सङ्गठनबीच वार्ता भएको थियो । वार्ता सकारात्मक भएपछि बन्द फिर्ता लिए पनि आज काठमाण्डौमा सार्वजनिक गाडी चलेका छैनन् । निजी गाडी र ट्याक्सी भने चलेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी र मजदुरहरूले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेपछि बन्दको कार्यक्रम स्थगित गरेका थिए । ट्राफिक प्रहरीले बढाएको जरिबानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आन्दोलन गरेका थिए । बालाजु बसपार्क क्षेत्र हिजो दिनभर नै तनावग्रस्त बनेको थियो । उज्यालो

          February 14, 2023 5:40 pm | अपराध


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...