Friday 29th March 2024

नागरिककाे निराशालाई आशामा बदल्छु : राष्ट्रपति पौडेल

1 year अगाडी

काठमाण्डाै – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको अधिकारमाथि खेलवाड गर्नु नहुने बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार आज वीपी सङ्ग्रहालय सुन्दरीजल पुगेर पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताउनु भयो । उहाँले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतान्त्रिक व्यवस्थालाई जगेर्ना गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले समावेशी लाेकतान्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै नागरिकको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रको लागि साहदत हुने सम्पूर्ण नेताहरुप्रति श्रद्धा भक्ति व्यक्त गर्दै उहाँहरुको सपना साकार पार्ने प्रण गर्छु । अहिले नागरिकमा निराशा जस्तो देखिएको छ । नागरिकको निराशा हटाउँदै आशा र उत्साहको सञ्चार गराएर सम्पूर्ण लोकतन्त्र प्रेमीहरुमा नयाँ जागरण ल्याएर देशमा उन्नतिको बाटो समात्नुपर्छ । सुशासनबाट देशको उन्नति हुन्छ । सुशासन देशले खोजेको छ । प्रकृतिलाई सम्झेर सुशासनको कुरामा सबैको ध्यान आकर्षित गर्न चाहन्छु । नेपालमा संविधानको दायित्व र नागरिकले पाएको अधिकारको रक्षा र यसमा कसैले खेलवाड गर्न दिनु हुँदैन ।’

राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्यानुभयो । उहाँले सङ्ग्रहालयमा वृक्षारोपण गर्नुका साथै सङ्ग्रहालयको अवलोकन गर्नुभएको थियो । पौडेल बिहीवार भएको राष्ट्रपति चुनावमा प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो। उज्यालो

          March 10, 2023 2:21 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...