Tuesday 7th May 2024

ऋण लिएर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

1 year अगाडी

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताउनुभएको छ ।

सोमवार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर भएर लागिरहेको बताउनुभएको हो । बैठकमा उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा देखापरेको दबाबलाई कम गर्न लगातार छलफलमा छौँ । बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ । हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।’

विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस भएको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिले विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा सुधार आएको छ । बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत् छलफल गर्ने सोच्दैछु । हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सक्छौँ ।’

अर्थतन्त्रमा सङ्कट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार रहेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘यसमा भूकम्प, कोभिड, रुस र युक्रेनको युद्धलगायतका कारण छन् । आयात, निर्यातसम्बन्धी निर्यातमा भएका सीमाहरूको कारण पनि छ । राजस्व सङ्कलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर भएर लागेका छौँ ।’

प्रधानमन्त्री प्रचण्डले ऋण लिने तर तिर्दिनँ भन्नेहरूप्रति सरकार कठोर हुने प्रतिबद्धता जनाउनुभयो । बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन । त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन’, उहाँले भन्नुभयो, ‘हुलहुज्जतको अराजकता सहन सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ ।’

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृतलगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवम् आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम रायलगायतका पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो । उज्यालो

          April 10, 2023 9:37 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...