Saturday 27th April 2024

शहिद लखन थापा मगर स्‍मृति गोल्ड कपको उपाधी कल्याणकारी युवा समाजलाइ

12 months अगाडी

जय आले, १३ मे २०२३, कुवेत / नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित “प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्ट तेश्रो संस्करण-२०२३” भव्यतापूर्वक सम्पन्न भएको छ। कुवेतको सशक्त भलिवल टिम कल्याणकारी नेपाली युवा समाज कुवेतले यो गोल्ड कपको उपाधी चुम्न सफल भएको छ भने आयोजक नेपाल मगर सँघ टिम-ए उपबिजेता बनेको छ।

हिजो १२ मे २०२३ शुक्रबारका दिन, कुवेतको अबुहलिफास्थित अल-साहिल स्पोर्ट्स क्लबको सुविधा सम्पन्न कभर्ड हलमा आयोजना गरिएको टुर्नामेण्टमा १० शसक्त नेपाली टिमहरुले सहभागीता जनाएका थिए। जसमा: पहिलो चरणको खेलमा पोल-ए बाट कल्याणकारी युवा समाजले मगर सँघ कुवेत टिम-बी लाई र नमस्ते रेष्टुरेन्ट महबुल्लाले युथ फर्वानिया क्लवलाई पराजित गरे भने पोल-बि बाट गण्डकी प्रदेशले एअरपोर्ट लिमाकलाई र मगर सँघ टिम-ए ले मोना कुवेतलाई पराजित गरे। यसैगरी, क्वार्टर फाईनललिष्ट टिमहरु पुर्व-पश्चिम महबुल्ला झाडिले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइन प्रवेश गर्‍यो भने अर्को क्वार्टर फाईनलिष्ट कल्याणकारी टिम-बी ले आफ्नो दर्ता फिर्ता लिएको थियो। सेमिफाईनलमा कल्याणकारी युवा समाजले नमस्ते नेपाली रेष्टुरेन्टलाई र मगर सँघ टिम-ए ले पुर्व-पश्चिम महबुल्ला झाडिलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेका थिए। फाईनलको घमासान प्रतिश्पर्धामा मगर सँघ टिम-ए लाई लगातार २ सेटमै पराजित गर्दै कल्याणकारी युवा समाजले शहिद लखन थापा मगर स्मृति गोल्ड कपको तेश्रो संस्करणमा शानदार बिजयी हाँसिल गरेको हो।

आयोजकले उत्कृष्ट खेलाडिको उपाधी पुर्व-पश्चिम महबुल्ला झाडिका खेलाडी श्रवण क्षेत्रीलाई र उत्कृष्ट टिमको उपाधी नमस्ते रेष्टुरेन्ट महबुल्लालाई प्रदान गरेको थियो। टुर्नामेण्टको बिजेता टिम कल्याणकारी युवा समाजले गोल्ड कप, मेडल, प्रमाण पत्र र २५१ केडी नगदी प्राप्त गर्‍यो भने उपबिजेता मगर सँघ टिम-ए ले ट्रफी, मेडल, प्रमाण पत्र र १५१ केडी नगदी प्राप्त गरेको छ। यसैगरी उत्कृष्ट खेलाडिले ट्रफी र प्रमाण पत्र, उत्कृष्ट टिमले ट्रफी र प्रमाण पत्र र रेफ्रीहरुले ट्रफी र मेडल प्राप्त गरे। टुर्नामेण्टमा मुख्य रेफ्रिको भूमिका मगर सँघ कुवेतका सकृय कार्यकारी सदस्य उमेश राना मगरले र सहायक रेफ्रीको भूमिका कार्यकारी सदस्य रबिन मगर र सल्लाहाकार जगत घागा मगरले निर्वाह गर्नु भएको थियो। टुर्नामेण्ट अवधिभर सम्पूर्ण खेलहरु निष्पक्ष र विवादरहित खेलाउन सफल भएको भनि रेफ्रीहरुको दर्शक दिर्घाबाट प्रशंसा गरिएको थियो।

नेपाल मगर सँघ शाखा कुवेतका बरिष्ट उपाध्यक्ष जय आले मगरले महासचिव श्रवण गाहा मगर र सचिव कल्पना मन्दिर मगरको साथमा सहजिकरण गरेको कार्यक्रममा सँघका अध्यक्ष बसन्त थापा मगरको सभापतित्व र नेपाली दूतावास कुवेतका दित्तिय सचिव श्रीकृष्ण सिलवालको प्रमुख आतिथ्यता रहेको थियो भने मगर सँघ कुवेतका संरक्षकद्वय मित्र सिंजाली मगर, मनु भुजेल मगर, बरिष्ट सल्लाहाकार दिल ब. पुन मगर, सल्लाहाकार तथा गोल्ड कप संयोजक हिरा दर्लामी मगर, सल्लाहाकार तथा गोल्ड कप उपसंयोजक जगत घागा मगर, एनसिसी कुवेतका अध्यक्ष रणध्वज लामा, BEC Exchange कुवेतका प्रतिनिधि डम्बर गुरुङ, City Express कुवेतका प्रतिनिधि चुडामणी पन्थी, जजिरा एअरवेजका प्रतिनिधि एवं एनसिसी कुवेतका पुव अध्यक्ष सुजन केसी, एनसिसी कुवेतका पुर्व अध्यक्ष अर्जुन तामाङ, NRNA मध्यपुर्वका DRC बिजय धामी, आईसिसी कोर्डिनेटर हरी लावती, मगर सँघ कुवेतका प्रथम उपाध्यक्ष राजेन्द्र आले मगर, तृतिय उपाध्यक्ष जंग घर्ती मगर, महिला उपाध्यक्ष नानु राना मगर लगायतको बिशेष आतिथ्यता रहेको थियो। यसैगरी, कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, समाजसेवी एवं बुद्दिजिबीहरुको आतिथ्यता रहेको थियो।

प्रमुख अतिथी, सभापति र बिशेष अतिथि ज्यूहरुले पानसमा द्विप प्रज्वलन गर्दै रिबन काटेर उद्घाटन गरेको कार्यक्रमलाई महासचिब श्रवण गाहा मगरको स्वागत मन्तब्यबाट मुर्तरुप दिईएको थियो भने नेपालका प्रथम शहिद लखन थापा मगरको बारेमा महासचिवले संक्षिप्त प्रकाश पार्नु भएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि दूतावासका दित्तिय सचिव श्रीकृष्ण सिलवालले खेल मानव जीबनमा अति आवश्यक रहेको र मगर सँघ कुवेतले नेपालका शहिदको स्‍मृतिमा यति ठुलो टुर्नामेण्टको आयोजना गरेकोमा बधाई दिंदै सबैलाई धैर्य भएर खेल्न र खेलको मनोरञ्जन लिन अनुरोध गर्नु भयो।

नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित यस गोल्ड कप भलिवल टुर्नामेण्टलाई सफलतापूर्वक सम्पन्न पार्नको लागि BEC Exchange कुवेत र City Express कुवेतले मुख्य प्रायोजन गरेका छन भने Jazeera Airways कुवेतले सह-प्रायोजन गरेको छ। यस्तै अन्य आर्थिक सहयोगिहरुमा समाजसेवी एवं व्यवसायी सुजन केसी(चौतारी रेष्टुरेन्ट) ५१ केडी, एनसीसी अध्यक्ष एवं व्यवसायी रणध्वज लामा(डम्पा लज रेष्टुरेन्ट) ५१ केडी, हिमालयन हाउस रेष्टुरेन्ट २१ केडी, नमस्ते नेपाली रेष्टुरेन्ट मोहन राई २६ केडी, निरेम प्रोडक्शन अफ कम्पनी ३१ केडी, युना फेन्सी स्टोर २१ केडी, भेटघाट नेपाली रेष्टुरेन्ट २० केडी, गोर्खा किचन रेष्टुरेन्ट २१ केडी र किरात राई यायोक्खा कुवेत २१ केडी रहेका छन भने मगर सँघ कुवेतका युवा संयोजक जिमी काउचा मगरले ५० कार्टुन पानी स्पोन्सर, सल्लाहाकार मोहन आले मगरले ३० कार्टुन पानी स्पोन्सर, सदस्य कल्पना लायो मगरले ब्याज स्पोन्सर गरेका छन भने सदस्य दुर्गा ब. पुन मगरले सम्पूर्ण अतिथिहरुको ब्याज आफैले सिलाएर तयार पारेका थिए।

मगर सँघ कुवेतले आफ्नो मातहतमा रहने गरि सँघकी महिला उपाध्यक्ष नानु राना मगरको संयोजकत्वमा स:शुल्क क्यान्टिन संचालन गरेको थियो। सँघको व्यवस्थापना बिभाग लगायत सम्पूर्ण महिला पदाधिकारीहरु क्यान्टिन संचालनमा चुस्त रुपले खटिनु भएको थियो भने युवा संयोजक जिमी काउचा मगरको संयोजकत्वमा पुरै खेल मैदान परिसरमा मगर दाजुभाइहरु मगर ड्रेसमा सजिएर स्वयं सेवकको भूमिका निर्वाह गरेका थिए। यसैगरी, साँस्कृतिक बिभाग प्रमुख यमन पुन मगरको संयोजकत्वमा मगर कलाकारहरुले खेल संचालनको बिश्राम अवधिमा नाचगान प्रस्तुत गरि सबैलाई मनोरन्जन प्रदान गरेका थिए। यस्तै खेलाडिहरुलाई धैर्य भएर खेल्न र प्रोत्साहन प्रदान गर्न र शान्ता बातावरण सिर्जना गर्न मगर सँघ कुवेतका खेलकुद बिभाग प्रमुख उत्तम थापा मगर र गोल्ड कप तेश्रो संस्करणका संयोजक तथा सल्लाहाकार दिरा दर्लामी मगर शुरुदेखी अन्त्यसम्म खटिनु भएको थियो।

करिब २ हजार खेलप्रेमी दर्शक र खेलाडिहरुले खचाखच भरिएको गोल्ड कप टुर्नामेण्ट निर्धारित समय भन्दा केही ढिला बिहानको ९.३० बजे संचालन भई बेलुकिको ०८.०० बजे सम्पन्न भएको थियो।

कार्यक्रमको अन्त्यमा सभापति तथा अध्यक्ष बसन्त थापा मगरले गोल्ड कप टुर्नामेण्टलाई भव्यतापूर्वक सम्पन्न पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक, नैतीक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नु हुने सम्पूर्ण खेलप्रेमी नेपाली दाजुभाई, दिदीबहिनी, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, रेफ्री, खेलाडी, पत्रकार, कलाकार र उपस्थित सम्पूर्ण खेलप्रेमी दर्शकवृन्दलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि मगर सँघ कुवेतबाट आयोजना हुने हरेक गतिविधिहरुमा सबैको यसरी नै सहयोग रहने अपेक्षा राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।

लखन थापा मगरको बारेमा छोटो चर्चा:
निरंकुश र हुकुमी राणा शासनको विरुद्ध सबैभन्दा पहिला आवाज उठाएर राजनैतिक दस्तावेज तयार पार्न, जनताद्वारा बैकल्पिक सत्ता स्थापना गरेर अगाडि बढ्न र नेपाली समाजमा राजनैतिक चेतना भरि प्रजातान्त्रिक आन्दोलनको जग बस्न शुरुवात गरेर विद्रोहका नायक बनेका क्या. लखन थापा मगरलाई तत्कालिन निरंकुश शासक जंग बहादुर राणाको सरकारद्वारा बि.सं. १९३३ फागुन २ गते गोरखा बुंकोटको आफ्नै किल्ला परिसर भित्र प्रतिस्थापन गरिएको मनकामना मन्दिर अगाडि खिर्राको बोटमा झुण्ड्याएर बिद्रोही मध्ये सबैभन्दा पहिला उनलाई मृत्युदण्ड दिईएको थियो भने नेपालको राजनीतिक इतिहासमा वि.सं. १९२७ देखि १९३३ सम्म जनसंगठन गरी लखन थापाको नेतृत्वमा भएको विद्रोह नै राणातन्त्र विरुद्ध जनस्तरबाट उठेको पहिलो विद्रोह थियो। यसै, बलिदान र योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई वि.सं. २०५६ मा शहिद घोषणा गर्यो भने वि.सं. २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो शहिदको दर्जा प्रदान गर्ने निर्णय गरेको थियो। हाल गोरखामा शहिद लखन थापा मगरको नाममा साविकका बक्राङ्ग, मनकामना, ताकलुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स मिलाएर शहिद लखन गाउँपालिका बनेको छ। कुवेतमा पनि मगर सँघ कुवेतले उनै प्रथम शहीदको स्मृतिमा यो रनिङ शिल्ड गोल्ड कपको आजभन्दा १० बर्ष पहिला स्थापना गरि तेश्रो संस्करणको आयोजना गरेको हो। मगर सँघले यो गोल्ड कपको पहिलो संस्करण ०७ फेब्रुअरी २०१४ मा र दोश्रो संस्करण १३ मार्च २०१५ मा सम्पन्न गरेको थियो।

          May 13, 2023 9:33 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...