Saturday 18th May 2024

सीमित व्यक्ति, समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या’

1 year अगाडी

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताउनुभएको छ ।

सोमवार नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशालासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले उपलब्ध स्रोत, साधन अनुत्पादक र कम उत्पादक क्षेत्रमा केन्द्रित हुँदा पनि अर्थतन्त्रमा समस्या देखिएको बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा देशभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिन्छ । त्यसैगरी सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्ने, उपलब्ध स्रोत–साधन प्रत्यक्ष/अप्रत्यक्ष रूपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रित हुनेजस्ता समस्या पनि देखिएका छन् । अहिले अर्थतन्त्रमा समस्या देखिनुमा यस्तै अनपेक्षित क्रियाकलाप पनि धेरै हदसम्म जिम्मेवार रहेका छन् । यस्तो प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नु आवश्यक छ । हाम्रो अर्थतन्त्रले आन्तरिक र बाह्य कारणले सिर्जना भएका चुनौतीको उच्चतम विन्दु पार गरिसकेको छ ।’

प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारी वृद्धितर्फ देशले प्रगति हासिल गर्न नसकेको बताउनुभयो । उहाँले दैनिक उपभोग्य वस्तुकाे ठूलो मात्रामा आयात गर्नुपरेकाले व्यापार घाटा चुलिँदै गएको उल्लेख गर्दै सरकारको नीति, योजना र कार्यक्रमकाे प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्तो भएको उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘देशका अन्य क्षेत्रमा केही प्रगति भए पनि उत्पादन र रोजगारी वृद्धितर्फ हामीले प्रगति गर्न अझै सकेका छैनौँ । यसैको फलस्वरूप उपभोग्य वस्तुको ठूलो मात्रामा आयात गर्नुपरेकोले व्यापार घाटा चुलिँदै गएको छ । त्यसैगरी रोजगारीको खोजीमा प्रतिदिन ठूलो सङ्ख्यामा नेपाली युवा विदेशिनुपरेको अवस्था छ । यसो हुनुमा हाम्रो नीति, योजना र कार्यक्रम तथा तिनको कार्यान्वयन प्रभावकारी हुन नसक्नु प्रमुख कारण हो भन्न हामीले अप्ठ्यारो मान्नु हुँदैन । प्रभावकारी हुन नसकेको कतिपय कार्यक्रमलाई खारेज गरेर नयाँ कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ र सरकार त्यसै दिशातिर अगाडि बढ्दैछ ।’ उज्यालो

          May 15, 2023 5:56 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...