चर्चामा आउन र नेतालाई खुसी पार्न सांसदहरू संसदमा नसुहाउँदाे क्रियाकलाप गर्दै
काठमाण्डाै – आफ्नो पार्टी र नेतालाई खुसी पार्ने तथा सञ्चारमाध्यममा चर्चामा आउने नाममा संसद् बैठकमा सांसदहरूले नसुहाउँदाे क्रियाकलाप गर्न थालेका छन् । संसद् नियमावली र व्यावहारिक विषय बिर्सेर सांसदहरूले संसद्को गरिमामा नै आँच पुग्ने किसिमका क्रियाकलाप गर्न थालेका हुन् ।
आज साेमवारको संसद् बैठकमा यस्ता थुप्रै नसुहाउँदाे दृश्य देखिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा भएका सम्झौता र अभिव्यक्तिलाई लिएर प्रतिपक्ष दलहरू नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले हिजो आइतवार संसद् चल्न दिएका थिएनन् । आज प्रधानमन्त्रीले यो विषयमा जवाफ दिने भएपछि आजको संसद् बैठक सुरु भएको थियो । तर आज प्रधानमन्त्रीले जवाफ दिने बेलामा नै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच चर्काचर्की पर्याे ।
रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री प्रचण्ड भारतबाट भैँसी चढेर आएको भनेपछि माओवादीका सांसदहरूले आपत्ति जनाएर उठे । माओवादीको विरोधका लागि एमाले र रास्वपाका सांसदहरू पनि उठेर हो–हल्ला गर्न थाले । सभामुख देवराज घिमिरेलाई यो विषय साम्य पार्न बडो सकस पर्याे ।
बल्ल–बल्ल सभामुख घिमिरेले शिशिर खनालको भनाइ संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभयो तर रास्वपा र एमालेका सांसदले प्रधानमन्त्री स्वयंले नै भैँसी चढेर आएको अभिव्यक्ति दिएकाले प्रचण्डको भनाइ पनि रेकर्डबाट हटाउन माग गरे । सभामुखले प्रचण्डको भनाइ पनि हटाउन भनेपछि यस पटक संसद् शान्त बन्यो ।
तर प्रधानमन्त्रीले बोल्दै गर्दा एमालेका सांसद सूर्य थापाले हो–हल्ला गर्दै बोल्न थालेपछि फेरि बैठक अशान्त भयो, प्रधानमन्त्री रोस्ट्रममा उभिएर बोल्दै गर्दा अपमानजनक ढङ्गले हो–हल्ला गरेको भन्दै सत्तापक्षका सांसदहरूको विरोध सुरु भयो । एमालेका केही सांसद र माओवादीका सांसद निकै चर्काे स्वरमा सवाल–जवाफ गर्न थाले । एमालेका सूर्य थापा, रघुजी पन्त र योगेश भट्टराई तथा माओवादीका राजन दाहाल र माधव सापकोटाले चोर औँला देखाएर बडो आवेगमा एकअर्का पार्टी र नेतालाई आलोचना गरे । रोस्ट्रममा उभिएका प्रधानमन्त्रीले पनि बेला–बेला आफ्नो कुरा राख्न पाउनुपर्छ भनिरहनुभयो ।
सभामुखले विरोध गर्नेहरूलाई बल्ल–तल्ल फकाउनुभयो, नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गरेको शालीन भाषणले पनि बैठकलाई शान्त बनाउन सहयाेग पुग्याे ।
सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको सवाल–जवाफका कारण रोस्ट्रममा गएर पनि प्रधानमन्त्रीले बोल्न पाउनुभएन, उहाँले १५ मिनेट यत्तिकै उभिएर बस्नुपर्याे । आजको संसद् बैठक बल्ल–तल्ल शान्त भए पनि पार्टीका प्रमुखलाई खुसी पार्न र आकर्षणमा पर्नका लागि पटक–पटक संसद् बैठकमा अमर्यादित क्रियाकलाप हुँदै आएका छन् जुन संसदीय अभ्यासमा पर्दैनन् ।उज्यालो
June 6, 2023 1:13 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन