Saturday 4th May 2024

सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

9 months अगाडी

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा -माओवादी केन्द्र_ का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले त्यस प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साेमवार बसेको पार्टी पदाधिकारी बैठकमा उहाँले सुन प्रकरणलगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पुर्‍याउन सरकार दृढ रहेको बताउनुभयाे । यही साउन ३ गते राजस्व अनुसन्धान विभागले सिनामङ्गलबाट ठूलो मात्रामा सुन बरामद गरेका थियो । अहिले सरकारले त्यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ । त्यस प्रकरणमा संलग्न भएको आरोपमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन् ।

सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । देश विकासको बाधकका रूपमा रहेको भ्रष्टाचार, अनियमितता, कसिमन जस्ता विषयलाई अन्तिम निष्कर्षमा पुर्‍याउन कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्दै प्रधानमन्त्रीले निर्दोष नफस्ने र दोषीलाई उम्कन नदिने विषयमा सरकार दृढ रहेको बताउनुभएको माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन आग्रह गर्नुभएको छ । उहाँले यस प्रकरणमा जोडिएका सबैलाई छानबिनको दायरामा ल्याउन र कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो ।

सरकारले अगाडि बढाएको भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानलाई प्रभावित पारेर अन्यत्रै मोड्न र दोषी उम्काउनका लागि आफ्नो नाम समेत जोडेर प्रचार गरिएको उहाँको भनाइ छ । उपमहासचिव पुनले भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारले अगाडि बढाएको अभियानलाई सफल बनाएरै छाड्नुपर्नेमा जोड दिनुभएको थियो ।

यही साउन १७ गतेदेखि बस्न लागेको पार्टीको केन्द्रीय समितिको बैठकको कार्यसूची तय गर्नका लागि माओवादी केन्द्रको पदाधिकारी बैठक लगातार बसिरहेको छ । त्यही क्रममा आज पनि बैठक बसेको हो ।

केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक एवम् साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुनेछ । त्यस विषयमा समेत आजको बैठकमा छलफल भएको थियो । यस्तै आउँदाे मङ्सिरमा विधान सम्मेलनको आयोजना गरी पार्टीको साङ्गठनिक संरचनालाई चुस्त बनाउने समेत तयारी गरिएको छ । उज्यालो

          July 31, 2023 3:39 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...