Thursday 2nd May 2024

साैराहामा एक अर्ब रुपैयाँकाे लगानीमा रिसाेर्ट बन्दै, दशैँ अगाडि सञ्चालनमा आउने

8 months अगाडी

काठमाण्डाै – सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ दशैँ अगाडि सञ्चालनमा ल्याउने भएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्रान्ड हो ।

सिद्धार्थ बुटिक होटल बौद्धमा आयोजना गरिएको एक कार्यक्रममा पर्यटन व्यवसायीहरूसँग बोल्दै सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले याे जानकारी दिनुभयाे ।

स्थानीय व्यवसायी बासु ढुङ्गानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको छ । रिसोर्टमा २२ भिल्लामा ३४ रुम रहेका छन् । ‘बर्ड वाचिङ’ थिमलाई प्राथमिकता दिइएको रिसोर्टका कोठाहरू चराको नामबाट नामाकरण गरिएका छन् ।

रिसोर्ट चार बिघा क्षेत्रफलमा फैलिएको  छ । पाहुनाले रिसोर्ट परिसरकै तलाउमा ‘फिसिङ’ गर्न सक्नेछन् । सौराहाको हात्तीसार नजिकै भएकाले रुमबाटै हात्ती देख्न सकिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारी लगायतका गतिविधि पनि गराउने छ । रिसोर्टमा स्विमिङ पुल, मसाज सहितको स्पा पनि रहनेछ ।

रिसोर्ट निर्माणमा झन्डै एक अर्ब रुपैयाँ लगानीको अनुमान गरिएको ग्रुपका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयाे । उहाँले भारतको रोजगारीबाट फर्केर २५ वर्षअघि कैलालीको टीकापुरमा सानो व्यवसायबाट शुरु गरेको व्यवसाय अहिले विस्तार भएर देशैभर फैलिएको छ ।

यसअघि ग्रुपले आफ्नो २५ औँ वर्षगाँठ पारेर भैरहवामा साढे दुई अर्ब रुपैयाँ लगानीमा ग्रुपको पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको जनाएको छ । भैरहवाको अञ्चलपुरमा रहेको यो होटल झन्डै पाँच बिघा क्षेत्रफलमा फैलिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले बताउनुभयाे ।

सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा ‘एग्रो टुरिजम’ थिममा लक्जरी रिसोर्ट निर्माणको तयारीसमेत गरिरहेको छ । जसअनुसार जुम्लामा स्याउ बगानसहितको लक्जरी रिसोर्ट र इलामको चिया बगानभित्र लक्जरी रिसोर्ट निर्माण तयारी गरेको न्यौपानेले जानकारी दिनुभयाे ।

ग्रुपले नेपालगञ्ज र सुर्खेतमा चार तारे सिद्धार्थ होटल तथा चन्द्रौटामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । चिसापानीको सिद्धार्थ रिसोर्ट, पृथ्वी राजमार्गको चुम्लिङटारको सिद्धार्थ रिभरसाइड रिसोर्ट रहेका छन् ।

बौद्धको सिद्धार्थ बुटिक होटल, बिर्तामोडको चार तारे स्ट्यान्डर्डको सिद्धार्थ होटल ग्रान्ड सिटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, टीकापुरको होटल सिद्धार्थ, सुन्धाराको होटल सिद्धार्थ यसै ग्रुप अन्तर्गतका होटल हुन् ।

बुटवल, नेपालगञ्ज, तीनकुने, घोबीघाट र पुरानो बानेश्वरमा सिद्धार्थ कटेज सञ्चालनमा छन् । ग्रुपले महाराजगञ्जमा दुई वटा तथा तीनकुने र नेपालगञ्जमा एक/एक वटा गरी चार वटा एस क्याफेको आउटलेट सञ्चालनमा ल्याएको छ ।

सिद्धार्थ हस्पिटालिटीमा दुई हजार जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । उज्यालो

          August 27, 2023 8:48 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...