Tuesday 7th May 2024

विदेश जानैपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक छ : अर्थमन्त्री महत

8 months अगाडी

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले कक्षा १२ को पढाइ सक्नेबित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज बिहीवार काठमाण्डाैमा भएको एक कार्यक्रममा अर्थमन्त्री महतले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरूको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा नै धेरै अवसरहरू भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्तिविनाको अध्ययनका लागि विदेश जान नहुने बताउनुभयो । उहाँले नेपालबाट जाने विद्यार्थीहरू राम्रो विश्वविद्यालयमा नगएको भन्दै उनीहरूले अध्ययन पूरा गर्न नसक्दा राम्रो अवसर समेत पाउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले जति पनि विद्यार्थी बाहिर देशमा पढ्न गएका छन्, उनीहरू राम्रो कलेजमा गएका छैनन् । उनीहरू एउटा भिसा सर्कलमा गएका छन्, न कलेज पूरा गर्न सक्छन्, न ठूलो अवसर पाएका छन् । नेपालमा इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूसँग उत्कृष्ट क्याम्पसहरूमा छात्रवृत्ति पास गरेर जान सक्ने क्षमता छ । तर कक्षा १२ देखि नै ४० हजार विद्यार्थी बाहिर गएका छन् । अहिले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको छ । अब विदेश नजानु भनेको इज्जत नै जाने जस्तो भइसक्यो । यो मानसिकता परिवर्तन गर्न आवश्यक छ ।’

अर्थमन्त्री महतले नेपालमा सूचना प्रविधिकाे क्षेत्रमा ठूलो अवसर रहेको बताउनुभयो । उहाँले पछिल्लो समय ठूलो सङ्ख्यामा युवाहरू सूचना प्रविधिकाे क्षेत्रमा लागे पनि करको दायरामा भने नआएको गुनासाे गर्नुभयाे । उहाँले नेपालबाट बेलायतमा १०० मिलियन पाउन्ड बराबरको सट्वयेरहरू निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको उल्लेख गर्नुभयो । आर्थिक वर्षको बजेटमा सूचना प्रविधिकाे क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि मन्त्री महतले बताउनुभयो ।

सूचना प्रविधि र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको अर्थमन्त्रीले बताउनुभयो । पर्यटन प्रवर्धनका लागि ठूलो ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि कसरी ऋण तिर्ने भन्ने समस्यामा सरकार रहेको उहाँकाे भनाइ छ । उहाँले पोखरा विमानस्थल भन्दा पहिला त्यो लगानीले निजगढमा विमानस्थल बनाएको भए राम्रो हुने अवस्था देखिएको उल्लेख गर्नुभयाे । उज्यालो

          August 31, 2023 5:23 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...