Friday 3rd May 2024

हत्या र यौनहिंसाको आरोपमा पक्राउ परेका बम्जनको घरबाट झन्डै साढे ३ करोड रुपैयाँ बरामद

4 months अगाडी

काठमाण्डाै – हत्या र यौन हिंसाको आरोपमा पक्राउ परेका विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले झन्डै साढे ३ करोड रुपैयाँ बरामद गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज पत्रकार सम्मेलन गरेर बम्जनको घरबाट बरामद गरेको रकम तथा सामग्रीसहित उनलाई सार्वजनिक गरेको हो । बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो । रकमसहित उनको घरबाट बरामद भएको पैसा, मोबाइल, ल्यापटप लगायत पनि प्रहरीले सार्वजनिक गरेको छ । यस्तै महँगा गाडीहरू पनि बरामद भएका छन् ।

बम्जनविरुद्ध आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । जिल्ला अदालत सर्लाहीले २०७६ साल माघ २३ गते पक्राउ पुर्जी जारी गरेयता प्रहरीले बम्जनको खोजी गरिरहेको थियो । तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

शुरुमा लामो समय बाराको हलखोरियामा रहेको जङ्गलमा बसेका बम्जन पछि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ मा जङ्गल अतिक्रमण गरी आश्रम बनाएर बस्दै आएका थिए । बम्जलाई पक्रन प्रहरी टोलीले २०७७ सालको असार ४ गते सिन्धुलीको आश्रममा छापा मारेको भए पनि पक्राउ गर्न सफल भएको थिएन । सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ । उज्यालो

          January 10, 2024 5:00 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...