Monday 25th August 2025

देश नबनाई कालले पनि मलाई लैजान्न : रवीन्द्र मिश्र

7 years अगाडी

पोखरा : विवेकशील साझा पार्टीले गण्डकी प्रदेश संयोजक महेश भण्डारीलाई चयन गरेको हो। पार्टीको केन्द्रीय समितिद्वारा चुनिएका उनलाई शनिबार पोखरामा आयोजित कार्यक्रममा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्ज्वल थापाले माटोको टीका लगाई संयोजक घोषणा गरे।

प्रदेश घोषणा सभा तथा नागरिक सम्बोधन कार्यक्रममा संयोजक मिश्रले देश नबनाई आफूलाई कालले पनि लान नसक्ने बताए। उनले भने, ‘मलाई देश नबनाई त कालले पनि लान सक्दैन।’ मिश्रले मृत्यु नजिकै आएको छ भन्ने सोचेर इमान्दारीपूर्वक काम गर्ने पनि बताए।

पहिल्यैदेखि कांग्रेसमा लागेको वा कम्युनिस्टमा लागेको भनेर नहुने भन्दै उनले मतदाताको मन बदलिनुपर्नेमा जोड दिए। उनले भने, ‘इमान बदल्न हुन्न, राजनीतिक आस्था बदल्नुपर्छ।’

विदेशी संस्थाको एक पैसा पनि आफ्नो पार्टीले सहयोग नलिएको प्रष्टोक्ति मिश्रले दिए। उनले त्यस्तो फेला परे पार्टी नै भंग गर्ने पनि बताए। उनले लोकतन्त्रवादीसँग पार्टी एकता हुन सक्ने भए पनि आडम्बरी लोकतन्त्रवादीसँग भने नहुने विचार राखे। पार्टीका अर्का संयोजक उज्ज्वल थापाले राजनीतिक संस्कारलाई बदल्नुपर्ने खाँचो औंल्याए।

नेता केशव दाहालले कांग्रेस र कम्युनिस्टको युग सकिएको धारणा राखे। ‘हामी लुगा बदल्छौं, घरको रङ बदल्छौं, घर बदल्छौं’, उनले भने, ‘पार्टी बदल्न किन सक्दैनौं ?’ उनले पुराना पार्टीको योगदान हुँदाहुँदै पनि उनीहरुको युग समाप्त भइसकेको बताए। ‘टाइपराइटरको आविष्कार हुनु ठूलो कुरा हो, आविष्कारकलाई धन्यवाद दिऊँ तर, अहिलेको जमाना टाइपराइटरको होइन कम्प्युटरको हो’, उनले भने, ‘टाइपराइटरलाई संग्रहालयमा सजाउने हो अफिस लैजाने होइन।’

पार्टीकोनीति तथा प्रशिक्षण विभाग प्रमुख डा. सूर्यराज आचार्यले सुसंस्कृत राजनीतिमा जोड दिए। केन्द्रीय सदस्य रञ्जु दर्शनाले असल परिपाटीको स्थापना गर्न आफ्नो पार्टी आएको सुनाइन्।
गण्डकी प्रदेश संयोजक महेश भण्डारीले साँचो राजनीति नभएकैले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुन नसकेको बताए। उनले भने, ‘हामीले राजनीति गतिलो भएन मात्रै भन्यौं, आफैंले गरेनौं। आफू परिवर्तन भएनौं।’अन्नपूर्णपोष्ट  

          October 28, 2018 5:23 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...