Saturday 16th May 2026

इस्लाम धर्मावलम्बीले लगाए भाइटीका

8 years अगाडी

नेपालगन्जका इस्लाम धर्मावलम्बीले भाइटीका लगाएका छन् । बाँके युनेस्को क्लबका अध्यक्षसमेत रहेका समाजसेवी प्रवेज अली सिद्दिकीले नेपालगन्जकी माया थापा र मीना भुसालको हातबाट टीका लगाएका हुन् । उनले थापालाई दिदी र भुसाललाई बहिनी बनाएका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना)ले पनि भाइटीका लगाएका छन् । मुस्लिम समुदायका भए पनि २० वर्षदेखि उनले हिन्दूले मनाउने चाड दसैँ र तिहारमा टीका लगाउँदै आएका छन् । नेपालगन्ज–१ धम्बोझीनिवासी पुनम सिंहको हातबाट टीका लगाउँदै आएको चुन्नाले बताए ।

पहाडी समुदायको बाक्लो बसोवास रहेको नेपालगन्जको घरबारीटोलमा बस्दै आएका उनले सामाजिक सद्भावका लागि टीका लगाउने गरेको बताए । ‘मर्दापर्दा काम लाग्ने छिमेकी हुन्, छिमेकी राम्रो भए मात्र आइपर्ने समस्यामा साथ पाइन्छ,’ उनले भने ।

दसैँमा नेपालगन्ज रामबागका शक्तिको घरमा गएर टीका लगाउने गरेको उनले बताए । चुन्नाले भने, ‘हाम्रो परिवार मुस्लिम र हिन्दू दुवैको चाडमा रमाउने गर्छ ।’ धार्मिक तथा सामाजिक सद्भावका लागि भाइटीका लगाउने र गैरहिन्दूले पनि तिहार मनाउने गरेका छन् ।

धार्मिक तथा सामाजिक हिसाबले अति संवेदनशील मानिएको बाँकेमा थारू समुदाय र मुस्लिम धर्मावलम्बीले पनि भाइटीका लगाउन सुरु गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–७ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले १० वर्षदेखि भाइटीका लगाउँदै आएका छन् । उनले यसपटक भने पोखरामा रहेका कारण टीका लगाउन नपाएको गुनासो गरे ।

थारू समुदायमा पछिल्लो समय अधिकांशले भाइटीका लगाउन थालेका छन् । अन्य समुदायजस्तै देउसी–भैलो खेल्ने, सेलरोटी, फिनी, अनरसा, सिंकामारी, रोटी पकाएर सामाजिक सद्भाव बढाउन थारू समुदायले पनि भाइटीका लगाउन थालेको थारू अगुवा चन्द्रबहादुर चौधरीले बताए । ‘थारू समुदायमा लगाउने परम्परा नभए पनि भाइटीका लगाउने क्रम बढेको छ,’ उनले भने । थारू समुदायको परम्परा नभए पनि पश्चिम तराईका अधिकांशले भाइटीका लगाउने गरेको उनको भनाइ छ । ‘दिदीबहिनीलाई दक्षिणा र कोसेली दिने माघी र अट्वारी पर्वमा हो, तर अन्य समुदायको देखासिखी गरेर अधिकांश थारूले भाइटीका लगाउने र भैलो खेल्न थालेका छन्,’ उनले भने ।

सामाजिक कार्यका लागि देउसी–भैलो
बाँकेमा देउसी–भैलोको रकम सामाजिक कार्यमा लगाइने भएको छ । ठकुरी सहयोग सञ्जाल बाँकेले देउसी–भैलोबाट संकलन भएको ७५ प्रतिशत रकम गरिब तथा जेहेनदार विद्यार्थीको पठनपाठनमा खर्च गर्ने भएको छ ।

देउसी–भैलोको रकमबाट शैक्षिक परियोजना सञ्चालन गरिने सञ्जालका अध्यक्ष दीपक शाहीले बताए । उनले गैरठकुरी समाजका बालबालिकालाई समेत छात्रवृत्ति प्रदान गरिने बताए । ‘सबै जात, धर्म र समुदायका बालबालिकाको शिक्षामा रकम खर्च गर्नेछौँ,’ अध्यक्ष शाहीले भने ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा सहयोगी आवाज नामक संस्थाले लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना जगाउन देउसी–भैलो खेलेको समितिका अध्यक्ष भीम ओलीले बताए । ‘तिहारको गीतमार्फत लागुऔषधविरुद्धको सचेतना जगाउने र संकलन भएको रकम सामाजिक कार्यमा लगाउने उद्देश्यले भैलो खेल्यौँँ,’ अध्यक्ष ओलीले भने ।

त्यसैगरी चिकित्सक, पत्रकार, मानवअधिकारकर्मीसहितको टोलीले नीलसागर वृद्धाश्रमको सहयोगार्थ भैलो खेलेका छन् । वृद्धवृद्धाको स्याहारसुसार, औषधि उपचार, खानपानमा सहयोग गर्न भैलो खेलेको इन्सेकका भोला महतले बताए । ‘वृद्धाश्रमलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ।

कोहलपुर नगरपालिका–१४ हवलदारपुरस्थित समाज सेवा संस्था नेपालले दृष्टिविहीनको सहयोगार्थ देउसी–भैलो खेलेको छ । संकलित रकम दृष्टिविहीनको आर्थिक उपार्जनमा खर्च गरिने संस्थाका अध्यक्ष विनोद थापाले बताए । ‘अघिल्ला वर्षका तिहारमा देउसी–भैली खेलेर जम्मा गरेको रकम मनोरञ्जन र खानपिनमा सकिन्थ्यो । यस वर्ष सामाजिक कार्यमा लगाउने भएका छौँ,’ उनले भने ।

बैजनाथ गाउँपालिका–६ लालपुरस्थित बाल क्लबले सडक बत्तीका लागि देउसी–भैलो खेलेको छ । गाउँमा सडक बत्ती नहुँदा रातको समयमा हिँड्डुल गर्न असहज भएपछि बाल क्लबमा आबद्ध बालबालिकाले भैलोबाट संकलन भएको रकम सडक बत्तीमा खर्च गर्ने भएका हुन् ।

यसअघि देउसी–भैलो खेलेर संकलन भएको रकम पिकनिक र खानपिनमा खर्च गर्ने प्रचलन थियो । तर, यस वर्ष सामाजिक कार्यमा लगाउनेको संख्या बढेको छ । यसले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ । ‘भैलो खेलेर जम्मा गरेको रकम जथाभावी सक्नुभन्दा सामाजिक र विकास निर्माणको काममा लगाउन अभियान चलाउनु राम्रो हो,’ बालअधिकारको क्षेत्रमा क्रियाशील सिद्धराज पनेरूले भने ।नयाँपत्रीका

          November 11, 2018 7:08 am | टप,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...