Monday 18th May 2026

उदयपुरमा ट्याक्टर दुर्घटना : तीनको मृत्यु, ३४ घाइते, पाँच गम्भीर

8 years अगाडी

गाईघाट : उदयपुरको बेलका नगरपालिकामा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर आइतबार साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ३४ मध्ये पाँच जनाको अवस्था गम्भीर छ भने २८ सामान्य छन्।

मदन भण्डारी लोकमार्ग अन्र्तगतको धरान–चतरा–गाईघाट सडक खण्डको बेलका नगरपालिका ८ रङ्गमहलमा स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेलका नपा २ का १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दीपीका चौधरीको मृत्यु भएको हो।

उदयपुर र सुनसरी जिल्लाको सीमाना चतराघाटको कोसी पुलमा वनभोज खाएर घर बेलका नपा २ को तपेश्वरी वेलहा फर्कनेक्रममा उकालो घुम्तीमा मोडनेक्रममा ट्याक्टर दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका प्रहरी निरीक्षक नविनकुमार सिंहले जानकारी दिए।

घटना लगत्तै पुगेको प्रहरी टोली र स्थानीयले घाइतेको उद्धार गरी उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा तीनजनाको बाटोमा मृत्यु भएको हो। अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको बेलका नगरपालिका प्रेस संयोजक भरत घिमिरेले जानकारी दिए।

घाइते सबैको बिपी कोइराला धरानमा उपचार भइरहेको छ। सडकबाट २५ मिटर तल खसेको ट्याक्टरमा ३६ जना सवार थिए। घाइतेको अवस्था बुझ्न बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन्।

          November 11, 2018 8:13 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...