Saturday 12th July 2025

देश बिकासका निमित्त हिन्दुत्व जोगाउन आवस्यकता !  

7 years अगाडी

रियाद, साउदि अरब –

मेरो घर नेपालको स्याङ्जा जिल्लामा पर्दछ । म बिगत २५ बर्ष देखी ईस्लामीक देश साउदी अरेबियामा आफ्नै ब्यवसाय सन्चालन गरेर बसेको छु । म मुस्लिमको छोरो हुँ । म आज नेपाली मुस्लिम हुनुको नाताले मेरो भोगाई लेख्दै छु । जे जती लेख्छु नेपाल आमालाई साक्षी राखेर सत्य लेख्ने गरेको छु ।

नेपालले केही वर्ष अघि मात्र विश्व मानचित्रमा हिन्दू राष्ट्रको नाम मेटाएर धर्मनिरपेक्ष राष्ट्रको पगरी गुथेको छ । यसले अधिकांश हिन्दुहरुको मन दुखाएको अनुभुती मैले गरेको छु । त्यसैले पनि अहिले हिन्दु राष्ट्रको आवाज फेरी उठेको छ र बढ्दो छ । यही परिप्रेक्षमा नेपाली काङ्ग्रेस महासमिती बैठकमा समेत हिन्दु राष्ट्रको मागको आवाज उठेको छ र यसरी उठ्नुलाई मैले अन्यथा ठानेको छैन ।

मुलत: नेपाली हरेक नागरीक आ-आफ्नो धर्म प्रति आस्था राख्दछन् र सबैलाई संबिधानले पनि त्यो प्रत्याभूति गराएको छ । जुन देशका नागरीक आस्तिक छन् उक्त देश कसरी धर्मनिपेक्ष हुन सक्छ? मुख्यत: धर्मनिरपे़क्षको शाब्दिक अर्थ नितान्त भौतिक वाद, पूर्णत: नास्तिक र अधार्मिक हुनु हो । जसको उदय फ्रान्लेसेली क्रान्ती हुँदै युरोपेली राष्ट्रहरूको एजेण्डा हो । त्यसो त मेरा साथीहरु मध्ये ९९.९ % हिन्दू छन् । म यस्तो देशमा जन्में, हुर्कें र पढेँ जहाँ हिन्दु र मुस्लिम बिचमा कुनै भिन्नता थिएन र छैन । अहिले सम्म कुनै भेदभाब पनि मैले महशुस गर्नु परेन । मलाई अहिले सम्म कसैले पनि तँ मुस्लिम होस् भनेर हेय र हेलाको भावले हेरेको देखेको र बोलेको मैले महशुस गरेको वा सुनेको छैन । मेरो जीवनका कयौ बसन्त काट्ने बेला सम्म यो देश हिन्दु रास्ट्र नै थियो खोइ त्यो समय पनि हाम्रो आपसी सद्भाव अहिले भन्दा अझै राम्रो र प्रगाड थियो ! राजनीतिक रोटि सेक्ने र अरुकै बुइ चढेर हिड्ने अदुर दर्शिताको नियतिको शिकार भएको देशमा सबै कुरा ओझेल परेका छन ! देशलाइ हिन्दु रास्ट्र बनाउने नबनाउने अलग बहसको पाटो हुन सक्ला तर आजको टड्कारो र देशको समृदिका निमित्त समेत यहाँको हिन्दुत्त्वलाइ जोगाउनु जरुरि छ !

म प्राय दसैं तिहारको मौका पारेर नेपाल जाने गर्दछु । हरेक बर्ष चाडबाडको बेला जाँदा आफ्न बाल्यकालका बालसखाहरु सँगको भेटघाट रमाइलो मेरा लागि आनन्द अनुभुती दिने खालका हुन्छन् । म उनिहरुको चाडबाडमा सँगै रमाउँछु । त्यसो त हिन्दू साथीहरु पनि हामी मुस्लिमहरुले मनाउने गरेको चाड ईदमा खुलेर मेरो खुशीमा साथ दिन्छन् । नेपालमा जन्मनु र नेपाली हुनुको मलाई यसैमा गर्व लाग्छ ।

मलाई कतिले चिन्नु हुन्छ, कतिले चिन्नु हुन्न तर जतिले चिन्नु हुन्छ, जात धर्म भन्दा माथी उठेर देशका बारेमा चिन्ता गर्ने व्यक्ति भनेर चिन्नु हुन्छ जस्तो मलाई लाग्छ। म जात धर्मको पक्ष्य पाति भएर भन्दा पनि देशको चिन्तन र देश को समृदि को बारेमा सोच्दै यो लेख लेख्दै छु, मेरो देश बिका़श भयो भने, राम्रो बाटो बन्यो भने, तिमी मुस्लिमको छोरो यो राम्रो बाटो हिड्न पाउदैनौ, राम्रो अस्पतालमा उपचार गर्न पाउदैनस भनेर पक्कै पनि भन्दैन होला । त्यसैले मेरो देश बिकाश हुनका निमित्त मेरो देश, ऋषी मुनिको देश, सिताको देश, गौतम बुद्धको देश, पशुपतिनाथ मन्दिर भएको देश, मुक्तिनाथ देखि अनगिन्ति धार्मिक स्थल भएको हाम्रो देश हिन्दू राष्ट्र नभएर के हो त ? देशले बोलीमामा मात्र समृदि हासिल गर्नका निमित्त होइन सचि नै समृदि हासिल पनि गर्न सक्दछ र त्यो खुड्किला धार्मिक पर्यटन समेत हुन सक्दछ ! बिश्वमा रहेका हिन्दुहरुको १० % मात्र हिन्दुहरुले पशुपति नाथ, मुक्तिनाथ जनकपुर तेसै गरि लुम्बिनी आउने वातावरण सिर्जना गर्न सकियो भने पनि देशको आर्थिक अवस्थाले ठुलै काँचुली फेर्न सक्छ ! धार्मिकता र यहाको बिशेसतालाइ किन हामीले देश को समृदिका निमित्त उपयोग नगर्ने त् ??

यहाँ भएका धार्मिक मठ मन्दिर हरुको मात्र प्रबर्दन गर्दै हामीले उलेख्य संख्यामा धार्मिक पर्यटक भित्र्याउन सक्छौ, शान्तिको देश लाइ फेरी हामि एउटा नमुना देश बनाउन सक्दछौ । धार्मिक स्थलकै कारण गाउँ, बजार, देश र जनता बिकाश भएको संसारमा धेरै यस्ता ईतिहास छ ।

त्यसैले हामी सबै जुटेर हाम्रा धार्मिक स्थलहरुको बिकाशमा लागौँ । देश त्यसै बिकाश हुन्छ । यो जनताको मन जितेर भोट बटुल्न देखावटी हिन्दु राष्ट्रका नारा तिर नलागौँ । कान्छो मोदी हुन खोजे देश र पार्टीले दुर्गती भोग्नु पर्ने छ । अरुको इसारामा भन्दा जनचाहाना अनुरुप पार्टीको नीति निर्माणमा जोड दिउ अबस्य पनि समग्र रास्ट्र र जनताको भलो हुने छ !

लेखक: राजु सैयद
उनी साउदि अरबमा सफल नेपाली व्यावसायि हुन भने गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का मानार्थ सदस्य समेत रहेका छन् ।

          December 23, 2018 12:24 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...