Monday 25th August 2025

४ वर्षमा ४५ हजार पटक गयो नेपालमा भूकम्प, ४ म्याग्निच्युट भन्दामाथि ५२० पटक धक्का

6 years अगाडी

काठमाडौं। नेपालमा पछिल्लो पटक शक्तिशाली भूकम्प गएको चार वर्ष पूरा भएको छ। १९९० सालको भूकम्पपछिको दोश्रो ठूलो भूकम्प २०७२ साल बैशाखमा गएको थियोे। जसलाई सरकारले ‘महाभूकम्प’ महाभूकम्प भनिने गरिएको छ। त्यसपछि हालसम्म नेपालमा साना ठूला गरी ४५ हजार पराकम्पन गएका छन्। ती मध्ये ४ रेक्टरस्केलमाथिका ५२० वटा पराकम्पन महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

२०७२ बैशाख १२ गते मध्यान्ह १२ बजे ७.६ रिक्टर स्केलको भूकम्पले ९ हजार बढीको ज्यान लिएको थियो भने २० हजार २०० भन्दा बढी घाइते भएका थिए। झन्डै पाँच लाख घर ध्वस्त भए । हजारौँ घरवारविहीन भए। गोरखाको ‘बारपाक’ केन्द्रबिन्दु बनाई उक्त भूकम्प गएको थियो।

संखुवासभा केन्द्र बिन्दु बनाएर १९९० सालमा गएको ८.३ रेक्टर स्केलको महाभूकम्पबाट नेपालमा ८ हजार ५१९ जनाको मृत्यु भएको थियो। त्यो बेलामा भारतमा पनि ठूलो जनधनको क्षति भएको थियो। त्यस्तै विसं २०४५ मा उदयपुर केन्द्रबिन्दु बनाएर ६.७ रिक्टर स्केलको पराकम्प जाँदा ७२१ जनाको मृत्यु भएको थियो।

२०७२ सालकाे महाभूकम्पछि हालसम्म नेपालमा साना ठूला गरी ४५ हजार पराकम्पन गएका छन्। ती मध्ये ४ रेक्टरस्केलमाथिका ५२० वटा पराकम्पन महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ

योबीचमा साना ठूला गरी हजारौं पराकम्पन गइसकेका छन्। २०७२ पछिको पनि ४ वर्षको अवधिमा मात्रै ४५ हजार पराकम्पन गएको खानी तथा भूगर्भ विभाग अन्र्तगत राष्ट्रिय पराकम्पन मापन केन्द्रका सेस्मोलोजिस्ट चिन्तन तिमिल्सेनाले बताए।

तिमिल्सेनाका अनुसार २०७२ बैशाख १२ पछिको ठूलो पराकम्पन गएको त्यसै महिनाको २९ गते हो। उनले भने, ‘त्यो बेला ६.९ रेक्टरको गएको थियो।’ ४ वर्षमा ४ म्याग्निच्युटभन्दा माथिका मात्रै ५ सय २० पटक भूकम्पले धक्का दिएको खानी तथा भू–गर्भ विभाग अन्र्तगत राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्याङ्कमा देखिएको छ।

महाभूकम्प गएको २०७२ को पहिलो महिनाको १२ गतेपछि ३१ गतेसम्म मात्रै १९ दिनमा २ सय २२ पटक पराकम्पन गएको थियो। दोलखा, सिन्धुपाल्चोक, गोरखामा सबैभन्दा धेरै पटक केन्द्र बनाएर पराकम्पन गएका थिए। बैशाख १२ गते नै १२ बजे नै ६.६ रेक्टरको पराकम्पन गएको थियो। त्यसैको भोलिपल्ट १३ गते ६.९ र २९ गते ६.८ रेक्टरको शक्तिशाली पराकम्पन गएको तथ्याङ्कले देखाएको छ।

२०७२ सालमा मात्रै ४ भन्दा माथिका मात्रै २ सय ५३ पटक भूकम्पले हल्लाएको थियो। त्यो वर्षमा धेरैजसो पराकम्पनहरुको केन्द्र सिन्धुपाल्चोक, दोलखा, गोरखा, रसुवा, धादिङलगायतका क्षेत्रमा थियो।

त्यस्तै २०७३ सालमा पनि ४१ पटक पराकम्प गएको थियो। त्यो बेलामा पनि दोलखा सिन्धुपाल्चोक, बझाङ्ग, नुवाकोटलगायतका क्षेत्रमा बढीपटक केन्द्र बनाएर गएको खानी तथा भू–गर्भ विभाग अन्र्तगतको राष्ट्रिय पराकम्प मापन केन्द्रले जनाएको छ।

त्यस्तै २०७४ सालमा २४ पटक, २०७५ सालमा ३४ पटक पराकम्पनको धक्का महसुस गरिएको सेस्मोलोजिस्ट तिमिल्सेनाले बताए। यो वर्ष २०७६ को पहिलो महिनामा पनि ४ पटक पराकम्पन गइसकेका छन्।

यो वर्षको दोश्रो दिनमा नै बझाङ्गमा केन्द्र बनाएर ४.८ रेक्टर स्केलको पराकम्पन गएको थियो। त्यस्तै ३ गते गोरखामा केन्द्र बनाएर ४.५ रेक्टरको पराकम्पन गएको थियो। बुधबार पनि बिहान ६ बजेर २९ मिनेटमा धादिङ केन्द्र बनाएर ५.२ रेक्टर र बुधबार नै ६ बजेर ४० मिनेट जाँदा धादिङ केन्द्र बनाएर ४.३ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

४ वर्षमा ४ रेक्टर भन्दामाथिका पराकम्पन ३ सय ५६ पटक गएको मापन केन्द्रको वेबसाईटमा उल्लेख छ। तर, भूकम्प मापन केन्द्रका कर्मचारीहरु भने ४ वर्षको अवधीमा ५ सय २० पटक पराकम्पन गएको बताउँछन्।

भूकम्पको इतिहास हेर्दा संसारमा हालसम्मकै सबैभन्दा ठूलो भूकम्प चिलीमा सन् १९६० मा ९.५ रेक्टर स्केलको गएको प्रमाण छ। हालसम्म संसारमा ९ रेक्टरभन्दा ठूला पाँच भूकम्प गएका छन्। तीमध्ये चार वटा भूकम्प प्रशान्त महासागर आसपासमा गएका छन्।

भूगर्भविद्का अनुसार जमिनको सतहभन्दा धेरैमुनि रहेको इन्डियन प्लेट युरोसियन प्लेटको मुनि सरिरहेको छ। त्यसमध्ये चुरेदेखि करिब १०० किमी उत्तरसम्म रहेका हिमालय क्षेत्रमा इन्डियन प्लेटलाई अवरोध गर्छ, जसमा प्रतिवर्ष २ सेन्टिमिटर धकेलिरहेको हुन्छ। त्यसको शक्ति सञ्चय हुँदा अवरोधले समस्या भई खुम्चिन्छ, सोमध्ये केही शक्ति हिमालयको स्थायी रुपमा उचाइ वृद्धि हुन प्रयोग भई भूकम्प जाने गर्छ।
सबैभन्दा बढी जोखिम प्लेटको सिमाना रहेको दुई हजार ५०० किमी हिमालय क्षेत्र अफगानिस्तानदेखि म्यानमारसम्म पृथ्वीको भूखण्डको करिब दुई तिहाइ क्षेत्र पर्छ। यस्तो भूकम्पीय जोखिम क्षेत्रमा करिब एक अर्ब मानिसको बसोबास रहेको भूगर्भविदहरुले दाबी गरेका छन्।

          April 25, 2019 10:02 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...