किन सरकारको चौतर्फी आलोचना भइरहेको छ ?
काठमाडौं। विपी कोइरालापछि जनताले केपी ओलीलाई सबैभन्दा बढी विश्वास गरेपनि सरकारले जनताको अपेक्षालाई सम्वोधन गर्न नसकेको सत्तारुढ दल नेकपाभित्रै टिप्पणी हुन थालेको छ। वर्तमान सरकारबाट जनताले ठूलो अपेक्षा गरेपनि सरकार भने मनोमानी ढंगले अगाडि बढ्न खोजेपछि अहिले सरकारको चौतर्फी आलोचना हुन थालेको छ। संसदमा कमजोर प्रतिपक्ष रहेको भन्ने टिप्पणी भइरहेका बेला सरकारले धमाधम ‘विवादस्पद’ विधेयक संसदमा दर्ता गराएको छ। सरकारले सरोकारवालासँग छलफल नै नगरी विधेयक दर्ता गराएको भन्दै सरोकारवालाले सडक आन्दोलनसमेत सुरु गरेका छन्।
मिडिया काउन्सिल सम्बन्धी विधेयकको संचारकर्मीले विरोध गरिरहँदा सरकारले गुठी सम्बन्धी विधेयक संसदमा दर्ता गराएपछि त्यसको विरोधमा पेसाकर्मी र अधिकारकर्मी सडक आन्दोलनमा छन्। मानवअधिकारकर्मी, सञ्चारकर्मी, गुठीयारदेखि बेरोजगार युवासम्म सरकारविरुद्ध सडकमा उत्रिएका छन्।गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकदेखि राहदानी, शिक्षालगायतका विधेयकमा सरोकारवाला पक्ष असन्तुष्ट छन्।
सरकारले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा १७ वैशाखमा दर्ता गरेको थियो। विधेयक सामान्य छलफलकै क्रममा रहँदा अहिले सरोकारवालाले विरोध जनाइरहेका छन्।नेपाल मिडिया काउन्सिल कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २७ वैशाख ०७६ मा सरकारले राष्ट्रियसभामा दर्ता गरको थियो। विधेयकका तीन विषयमा पत्रकारले आपत्ति जनाएका छन्। काउन्सिल पदाधिकारी नियुक्ति प्रक्रिया, काउन्सिलमाथि सञ्चारमन्त्रीको नियन्त्रण र पत्रकारमाथि गरिने दण्ड÷जरिबाना गर्न सक्ने व्यवस्थाप्रति संचारकर्मीले विरोध जनाएका छन्।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ। सरकार एकपछि अर्को गर्दै विवादस्पद विधेयक संसदमा दर्ता गराउन थालेपछि अहिले सरकार विरुद्ध आन्दोलनको माहोल बनेको छ।‘विकास निर्माणको काम जनताले अपेक्षा गरेअनुसार हुन नसक्नु, सरकारले एकपछि अर्को गर्दै विवादस्पद विधेयक संसदमा दर्ता गराउनु, सरोकारवालासँग परामर्श नगर्नु र मैले जे गर्दा पनि हुन्छ भन्ने अहंकारले गर्दा अहिले सरकार विरुद्ध माहोल बनेको छ,’ नेकपाका एक नेताले भने, ‘नेपाली जनताले विपी पछि सबै भन्दा विश्वास गरेका नेता केपी ओली हुन्। तर उहाँले जनताको अपेक्षा पूरा गर्न सक्नु भएन।’स्पष्ट भिजन नभएका कारण सरकारले गति दिन नसकेको उनले जनाए। ‘पार्टी र सरकार दुवै आफ्नो पकडमा राख्न खोज्दा प्रधानमन्त्री ओलीले राम्रो काम गर्न सक्नु भएन,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘पार्टीमा पनि आफ्नै पक्षको बहुमत चाहिने, सरकारका मन्त्रीले राम्रो काम गर्न नसकेपछि उनीलाई फेर्न नसक्ने अवस्थामा सरकारप्रति जनता निराश भएका छन्।’
June 16, 2019 10:16 am | टप