Thursday 16th January 2025

बाढीको वितण्डा : १९ जनाको मृत्यु, सयौँ फसिरहे, हजारौ परिवार विस्थापित,हेर्नुहोस फोटो फिचर

6 years अगाडी

काठमाडौं । अविरल वर्षापछिको बाढी र पहिरोमा परी प्रदेश १, २ र ३ का विभिन्न जिल्लामा गरी १९ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकामा चार, खोटाङमा तीन, भोजपुर र काभ्रेमा दुई–दुई, इलाम, ओखलढुंगा, पर्सा, झापा, सिन्धुली, रामेछाप, मकवानपुर र धादिङमा एक–एकजनाको मृत्यु भएको नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिए।

बाढीपहिरोमा परी आठ जना बेपत्ता भएका छन्। यस्तै बाढीपहिरोमा परी सयौं घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन्। पहिरोले राजमार्ग अवरुद्ध हुँदा राजधानीसहित विभिन्न जिल्लामा यातायात अवरुद्ध भएको छ। तराई विभिन्न जिल्ला र राजधानीका केही ठाउँ डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ।

खोटाङको खोटेहाङ गाउँपालिका–२ का एकै परिवारका तीन जनाको मृत्यु भएको छ। पहिरोमा परी रेखा राई र उनका दुई छोरा रोमन र रोहनको मृत्यु भएको छ। घर पुरिँदा विष्णुकुमार राई घाइते भएका छन्। खोलाले बगाएर इलामको चुलाचुली–१ मा अञ्चल लावतीको मृत्यु भएको छ।

भोजपुरको ट्याम्केमयुङ गाउँपालिका, लोकखर्कका जनक विकको शौचालय गएका बेला पहिरोले पुरिएर मृत्यु भएको छ। यस्तै रामप्रसाद राई गाउँपालिका–७ बासीखोरामा घरको छानो खसेर ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ। ओखलढुंगाको चिसंखुगढी गाउँपालिका रातमाटेमा ९५ वर्षीया पासाङ फुरी शेर्पाको लसुने खोलाले बगाएर निधन भएको छ। झापा दमक–१० मा भालुखोलाले बगाएर ६ वर्षीया एलिजा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ। पर्साको पर्सागढीमा बाढीले बगाएर ल्याएको काठ छोप्न भनेर सिङ्याही खोलामा पसेका बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेघराज पटेलका १२ वर्षीय छोरा निखल छन्।

अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा चार जनाको मृत्यु भएको छ। तीनजनाको टहरोले किचेर र एकजनाको पहिरोमा पुरिएर निधन भएको हो। काठमाडौं मूलपानीस्थित बाबाचोकमा टहरालाई पर्खालले थिच्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। घटनामा बारा घर भई मूलपानी बस्दै आएका ३५ वर्षीया शर्मिला यादव, १० वर्षीय छोरा कुन्दन यादव र शर्मिलाकी देवरानी ३० वर्षीया निलु यादवको मृत्यु भएको हो। प्रहरीले एक्जाभेटर लगाएर टहरा पन्छाउँदा तीन जनाको शव भेटिएको थियो। घर भत्किँदा ललितपुरको बागमती गाउँपालिकाको बगुवामा १३ वर्षका सरोज जिम्बाको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले घर भत्केर जिम्बाको मृत्यु भएको बताए।

काभ्रेको बनेपा नगरपालिका–३ नालामा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोले पुरिँदा स्थानीय रामप्रसाद दंगालकी पत्नी ५५ वर्षीया गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताए। घरमाथिबाट आएको पहिरोले पुरिँदा घाइते भएका ३ जनाको उपचार भइरहेको छ। मकवानपुरको थाहा नगरपालिकामा खोलाले बगाउँदा स्थानीय शिवराम बलामीकी १४ वर्षीया छोरी सन्तमाया बलामीको मृत्यु भएको छ। खोलाले बगाएर घाइते भएकी उनको उपचारका क्रममा पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो।

प्रहरीका अनुसार रामेछाप नगरपालिका–५ मा पहिरोले पुरिएर पदमकुमारी सुनुवारको मृत्यु भएको छ। धादिङको गजुरी गाउँपालिका–४ मा घर भत्किएर अस्मिता तामाङको मृत्यु भएको छ भने सिन्धुलीको फिक्कल गाउँपालिका–१ मा पहिरोले गोठ भत्किँदा हेमकुमारी सुनुवारको मृत्यु भएको छ।

सुनसरी, पाँचथर र झापामा एकएक जना बेपत्ता भएका छन्। सुनसरीको इटहरी–५ स्थित सुकुमारी खोलाले बगाएर दुई दिनदेखि बेपत्ता युवा अझै भेटिएका छैनन्। सोही स्थानमा ग्रिल पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई माछा मार्ने क्रममा बिहीबार बाढीले बगाएको थियो। पाँचथरको मिक्लाजुङ–४ का दियाल राई पहिरोमा परी बेपत्ता भएका छन्। मेचीनगर– १४ का ५४ वर्षीय सुफल हस्दा भद्रपुरस्थित हडिया खोला तर्ने क्रममा बेपत्ता भएका छन्।

यस्तै महोत्तरीको बलवा नगरपालिका—२ का ७० वर्षीय हनिफ बैठा, रौतहटको ईशनाथ नगरपालिका ३ का ३५ वर्षीय रामकुमार पटेल र रौतहटको गढीमाई नगरपालिका–६ सिंहरवनकी ५० वर्षीया आनन्दीदेवी राय बेपत्ता छन्। उनीहरूलाई स्थानीय खोलाले बगाएको हो।

प्रहरीका अनुसार राजधानीमा विष्णुमती खोलाले बल्खुमा एक जना बगाएको छ। उनी फेला परेका छैनन्। मकवानपुरको कैलाश गाउँपालिका–५ कालीखोलामा आएको पहिरोमा परी तारामाया पाख्रिन बेपत्ता भएकी छिन्। ललितपुरकै भट्टेडाँडामा गुडिरहेको गाडीमाथि ढुंगाले थिच्दा ३५ वर्षीय दीपक घले घाइते भएका छन्। घले चढेको बा ४ ख ८६४ नम्बरको गाडीमाथि ढुंगा बजारिएको थियो।

रामेछापमा गोठ पुरिँदा एक महिलाको मृत्यु

अविरल बर्षाको कारण रामेछाप नगरपालिका ५ दाईजोर करमटारमा एक गोठ भत्कदाँ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७१ वर्षिया पदम कुमारी सुनुवार छन् । बिहान दुध दुहुन गोठ गएकी उनको गोठ भाँसिएर भत्कदा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा उनकी वुहारी असली सुनुवार घाइते भएकी छन् । यता, अविरल वर्षा संगै ठाउँ ठाउँमा गएको पहिरोले रामेछापदेखि काठमाडौ र तराई क्षेत्रको सिधा सम्पर्क टुटेको छ । वर्षादले मन्थली नगरपालीका ६ स्थीत खुर्कोटको पुलको मुख सोहि वडाको हातिटार र कुनौरीमा पहिरो गएको छ । पहिरोका कारण रामेछापवाट राजधानी र तराई क्षेत्रका रुटमा जाने आउने सवै गाडि अवरुद्ध भएकोले यात्री हरुलाई कठिन भएको छ ।

सिन्धुलीमा बाढीले मानव बस्ती जोखिममा

लगातारको वर्षाले सिन्धुलीको फिक्कलमा पहिरो जाँदा एक जनाको पुरिएर मृत्युु भएको छ । मृत्यु हुनेमा फिक्कलकी हेम कुमारी सुनुवार रहेकी छिन् । तीनदिन देखिको अविरल वर्षाले सिन्धुलीको कमला र मरिण नदीमा आएको बाढीले खेतीयोग्य जग्गाहरु कटान शुरु गरेको छ ।

सिन्धुलीजिल्ला सदरमुकाम सिन्धुलीमाडीको गौमती नदीमा आएको बाढीले मुख्य बजारका नदी तटीय क्षेत्रमा जोखिम बढाएको छ । लगातारको वर्षाले सिन्धुलीका सबै ग्रामिण सडकहरु अवरुद्ध हुदा यातायात आवागन बन्द भएको छ । वर्षासँगै चुरेपहाड क्षेत्रबाट खहरेमा पहिरो आउँदा निपाने,रानीवास,हर्षाही र टाडीका विभिन्न स्थानका सडकहरु अबरुद्ध बनाएको छ । लगातारको वर्षापछि सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलाखोच क्षेत्रको रानीवास,सिथौंली र हर्षाही दुधौंली क्षेत्रका खेती योग्य जग्गाहरु कटान शुरु गरेको छ ।

तराई र भित्री तराई क्षेत्रको बीचमा पर्ने चुरे पहाडको कांखमा अवस्थित कमलाखोच क्षेत्रमा चुरे पहाड विनाशकाकारणले कमलानदी र खहरेहरुमा आउने बाढीले रानीवास,निपाने,काउछे,हर्षाही,टाडी लगायतका मानव बस्तीहरु समेत जोखिममा पर्न थालेका छन् भने मरिण क्षेत्रका सहान,नक्कली,बाह्विसे लगाएतका स्थानकामानव बस्तीहरु जोखिममा परेका छन् । बाढीले रानीवास, निपाने, काउछे, हर्षाही, टाडी, सहान, नक्कली, बाह्विसे लगाएतका स्थानकामानव बस्तीहरु समेत जोखिममा परेका छन् ।

जनकपुर जलमग्न

यता, अबिरल वर्षाका कारण प्रदेश २ का राजधानी जनकपुर उपमहानगरपालिकाका बजार क्षेत्र सहित अधिकांश वडाहरु अधिकांश वडा डुबानमा परेको छ । उपमहानगरपालिकाको लापरवाहीका कारण सडक निर्माणले पुरिएका ढल तथा नाला सफा नगरिंदा बजार क्षेत्र सहित अधिकांश वडाहरु डूबानमा परेको छ । उपमहानगरपालिका भित्रका सरकारी कार्यालयहरु समेत डुबानमा परेका छन् ।

उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ७, ८, १० र ११, १४ लगायतका स्थानहरु डुबानमा परेको हो । त्यहाँका घरहरुमा पानी पसेका कारण जनजिवन प्रभावित बनेको छ । एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन नगरेका कारण पानीको निकास हुन नसकेको कारण नगरका अधिकांश क्षेत्र जलमग्न भई आवागमन अवरुद्ध भएको छ ।

वर्षाको पानीले गर्दा वडाहरुसहित जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालय, जनकपुर अञ्चल अस्पताल, जनकपुरको प्रमुख चौक रामानन्द द्वार (चौक), मुख्यमन्त्री कार्यालय, धनुषाको जिल्ला प्रशासन कार्यालय जलाशयमा परिणत भएको छ । त्यसैगरी लगातारको वर्षाका कारण जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमी मैदान, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर समेत जलमग्न भएको हो । उता कमला नदी–धनुषा तितरिया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्ने क्रममा रहेकोले धनुषा र सिराहा जिल्लाको डुबान भइरहेको तटीय क्षेत्रमा रहेका नागरिकहरुलाई सतर्क रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

अविरल बर्षाको कारण भरतपुर बिमानस्थल बन्द

यता, चितवनको भरतपुर बिमानस्थल बन्द भएको छ । अविरल बर्षाले गर्दा भिजिविलिटी कम भएकोे जसको कारण विमानस्थल बन्द गरिएको भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख पवन गौतमले जानकारी दिनुभयो । बिहान ११ बजेर १५ मिनेट पछि विमानस्थल बन्द गरिएको गौतमले बताउनुभयो । सामान्यतया भरतपुरबाट दैनिक ८ वटा उडान तथा अवतरण हुने गरेकोमा आज एउटा उडान र दुईवटा अवतरण भएको छ ।

पोखराबाट भरतपुर र भरतपुरबाट पोखराको लागि उडान तथा अवतरण भएको हो । त्यस्तै काठमाडौंबाट भरतपुर आएको एउटा मात्रै विमान अवतरण भएको छ । काठमाण्डौबाट भरतपुर आएको यति एयरलान्यसको जहाज अवतरण भएको र त्यसपछि विमानस्थल बन्द हुदाँ उक्त जहाज भरतपुर विमानस्थलमै रोकिएको छ । अहिले विमानस्थल बन्द भएकाले कुनैपनि उडान तथा अवतरण हुन सकेको छैन । काठमाण्डौ जानको लागि विमानस्थल आएका यात्रुहरु विमानस्थल खुल्ने आशमा प्रतिक्षा गरिरहेका छन् ।

बनेपा जलमग्न

अबिरल बर्षाका कारण काभ्रेको वनेपासहितका ग्रामिण बस्तीहरु डुवानमा परेको छ । बनेपा बजार जलमग्न हुँदा यातायातका साधनहरु ठप्प बनेका छन् । काभ्रेको पनौती–ढुन्खर्क यातायात, बि.पी राजमार्ग, काभ्रेको कोशीपारी चल्ने यातायात, महाभारत, खानिखोला लगायतको स्थानमा यातायातको सेवा अबरुद्ध भएको छ । बर्षाका कारण रोशी खोला, भोटेकोशी तथा इन्द्रवती नदीमा बाढी आएको छ ।

बिहीबार साँझदेखि परेको भारी बर्षाको कारण पहिरो जाने खतराले यातायात सेवा बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ । यता, काभ्रेको चौरी देउराली ४ छेडामा अविरल वर्षको कारण दिपक गौतम, धन प्रसाद तिमल्सिना र राम प्रसाद चौलागाईंको घर पहिरोले पुरेको छ । विहानको समय भएकाले मानवीय क्षति भने हुन पाएन । तीन वटै घरका सम्पुर्ण सरसामन पुरिएका छन् । यता, मंगलटार, कटुन्जे लगायतका ४ स्थानमा झरेको पहिरोको कारण यातायात सेवा ठप्प भएको छ । ग्रामीण भेगको यातायात पुर्ण रुपमा ठप्प भएको छ ।

विराटनगरका बिभिन्न बस्ती डुवानमा

अविरल वर्षापछि सिंगिया खोलामा आएको बाढीले विराटनगर महानगरपालिकाका ३ वडाका विभिन्न बस्ती डुवानमा परेका छन् । महानगरपालिकाका १, २ र ८ वडाका बस्ती डुबानमा परेका हुन् । सिंगियाको बाढीले विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी बस्ती डुबाएको छ । यो वस्तीमा करिब ५० घर रहेको र उनीहरूलाई गएराति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, विराटनगर महानगरपालिका–२ र ८ का वस्ती पनि डुबानमा परेका छन् । मोरङमा बिहीबारदेखि सुरु वर्षा आज दिउँसोदेखि भने कम भएको छ ।

रौतहटको अधिकाँश स्थान डुवानमा

दुईदिनदेखिको लगातार बर्षाका कारण रौतहटको चन्द्रपुर नगरपालिकासहित अधिकाँस स्थान डुवानमा परेको छ । लगातारको बर्षा र बाढीका कारण चन्द्रपुर, ईशनाथ, गौरलगायतका नगरपालिका डुवानमा परेको भने दुर्गाभगबती गाउँपालिकासमेत डुवानमा परेको छ । पानीको निकास नभएपछि जलमग्न भएका पालिकाको बस्ति डुवानमा परेको छ । सदरमुकाम गौरमा रहेको जिल्ला प्रहरी कार्यालयसहितका अधिकाँस सरकारी कार्यालय समेत डुबानमा परेको छ । उता, पूर्व पश्चिम राजमार्गको चन्द्रपुरबाट पूर्व तर्फको कजवेमा पानीको प्रबाह बढि भएका कारण यातायात रोकिएको छ ।

सबैतिर जलमग्न भएपछि मानिसहरुको चहलपहल न्युन रहेको छ । पुर्वको बागमती र पश्चिमको लाल बकैया नदीमा पानीको सतह बढ्दै गएपछि दक्षिण भेगका स्थानीयहरु उच्च जोखिमा परेका छन् । उता डुबानको भाग लाई निकास दिन स्काभेटर चलाइएको छ । बिकासको नाममा निकास बिहीन सडक निर्माणले रौतहटको अधिकास पालिका डुवानमा परेको स्थानीयको भनाइ रहेको छ ।

हेटौंडामा पहिरोले सडक अवरुद्ध

गए रातीदेखि परेको वर्षाले हेटौंडा कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौं जाने सडक अवरुद्ध भएको छ । ईन्द्रसरोबर गाउँपालिकाको वडा नं २ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा २०० मिटरसम्म सडक पहिरोले पुरिएको छ । सडकको पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ ।

यसैगरी फाखेल फर्पिङ भएर काठमाडौं जाने सडक खण्डमा ईन्द्रसरोबर गाउँपालिका वडा नं ५ महालक्षमी खोलामा आएको पहिरोले सडक अवरुद्ध भएको छ । सो सडक खुलाउने प्रयास भइरहेकोे फाखेल प्रहरी चौकीले जानकारी दिएको छ । त्रिभुवन राजपथको हेटौंडा काठमाडौं सडक यातायात भने सुचारू रहेकोे जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

          July 13, 2019 12:50 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...