किन बस्छन् महिला साउने सोमबारको बर्त? साउनको धार्मिक महत्त्व
पूर्णप्रसाद मिश्र, साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । भक्तजन भने बिहान ३ः३० बजेदेखि पूजा एवं दर्शनका लागि लाममा बसेका थिए । अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ । रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । साउनको सोमबारलाई लक्षित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको सदस्य सचिव ढकालले जानकारी दिनुभयो ।
विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउनुहुन्छ । यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।
साउनको धार्मिक महत्त्व : साउन शिवजीसँग जोडिएको महिना हो। साउन महिनामा पूजा गरे सवै देवताको पुजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ। हिन्दु धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ। यो महिनामा व्रत, दान, पूजापाठ, आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। पुराणहरुमा मुख्य तीनथरी व्रतको चर्चा पाइन्छ। ती हुन्– साउने सोमबार, सोह्र सोमबार एवं सोह्र पद्रोस। सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ। यो व्रत विधि सूर्योदय देखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ। दिनको तेस्रो प्रहर अर्थात करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ। व्रर्त गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ। यसरी व्रत बस्दा सारा समस्या समाधान हुने विश्वास छ।
साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण के हो भने यो महिनामा अधिक वर्षा हुन्छ, जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्दछ। शिव पुराण अनुसार शिव स्वंय जल हुन। भगवान शिवले सनतकुमाहरुलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन – मेरा तीन आँखामध्ये दाहिने आँखा सुर्य, बायाँ आँखामा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन। हाम्रा महिनाहरुको नाम नक्षत्रका आधारमा राखिएको छ। श्रवण नक्षत्रको स्वामी चन्द्रमा हुन। चन्द्रमा भगवान शिवको मस्तकमा शोभयमान छन्। जब सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरे पछी साउन महिना सुरु हुन्छ।
सुर्यले ताप तथा चन्द्रमा ले शीतलता प्रदान गर्छन, यसकारण सुर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र यसले शिवलाई पसन्न तुल्याउँछ। त्यसैले यो महिना व्रत वसी शिवजीको व्रत एंव पूजा गरे आफू, श्रीमान, सन्तान, एवं परिवार सवैको कल्याण हुने धार्मिक विश्वास छ। महिनाको अरु दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्तयि मान्यता छ।
गोकर्णेश्वरमा बालयन्त्रको दर्शन : यसैगरी राजधानीको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि भीड लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ । वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाइरहेका छन् ।
यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् । भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महीनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घरमा नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यतासमेत छ ।
नागेश्वरमा भक्तजनको भीड : यसैगरी पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिनुभयो । मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि भीड लागेको छ । बिहानैदेखि झरी परे पनि छाता ओढेर भक्तजन लाममा बसिरहेका छन् ।
July 23, 2019 2:13 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो