बाढी पहिरो प्रभावितलाई ट्रेड युनियनको १० लाख सहयोग
काठमाण्डौ – निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाख आर्थिक सहायता उपलब्ध गराएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी युनियनका पदाधिकारीहरुले बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा युनियन र युनियनमा आवद्ध राष्ट्रिय स्तरका कर्मचारी संघ, संगठनहरुको पहलमा संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितलाई राहत दिन हस्तान्तरण गरिएको युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो । त्यस अवसरमा उहाँले युनियनले विगतमा पनि भूकम्पलगायतका पीडितलाई राहत उपलब्ध गराउँदै आएको पनि स्मरण गराउनु भएको थियो ।
केडिया अर्गनाइजेशनको १५ लाख सहयोग : औद्योगिक घराना केडिया अर्गनाइजेशनले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् बाढी, पहिरो र डुबान पीडितका लागि १५ लाख आर्थिक सहायता प्रधानमन्त्री ओलीलाई उपलब्ध गराएको थियो ।प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका यो समूहका पदाधिकारीहरुले प्राकृतिक प्रकोपमा परेकाहरुलाई राहत दिने कार्यमा आफूहरु सरकारलाई सहयोग गर्न सधैँ प्रतिबद्ध रहेको पनि बताएका थिए ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुबान पीडितलाई राहत उपलब्ध गराएकोमा दुवै संस्थाप्रति आधार व्यक्त गर्नुभएको थियो । गएको असार २७ गतेबाट ३ दिनसम्मको लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट दर्जनौँले ज्यान गुमाउनु परेको थियो भने दर्जनौँ घाइते र हजारौँको संख्यामा विस्थापित भएका थिए ।
July 24, 2019 1:14 pm | टप