नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति दिने बाटो खुल्यो
काठमाडौँ — विदेशस्थित नेपाली दूतावासबाटै नेपाली कामदारलाई पुनः श्रमस्वीकृति दिने कानुनी बाटो खुलेको छ । अब पुनः श्रमस्वीकृति लिनको लागि स्वदेश आउनुपर्ने बाध्यता हट्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार नियमवाली–२०७६ लाई पाँचौ पटक संशोधन गरी कामदारलाई दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको हो । यसलाई छिट्टै कार्यान्वयन गर्न मन्त्रालयले तयारी थालेको छ ।
वैदेशिक रोजगार विभागले दुई वर्षको लागि मात्रै श्रम स्वीकृति दिने गरेको छ । पुनः सोही कम्पनीमा निरन्तर काम गर्न चाहेमा कामदारले विभागबाट पुनः श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । गत आर्थिक वर्षमा मात्रै दुई लाख ७२ हजार जनाले विभागबाट पुनः श्रम स्वीकृति लिएका थिए ।
श्रम स्वीकृतिको प्रतिलिपि, राहदानीको प्रतिलिपि, अघिल्लो पटक र हाल प्राप्त गरेको भिसा, रोजगार करारपत्र, जीवन बिमा र कल्याणकारी कोषमा रकम भुक्तानी गरेपछि दूतावासले सहजै पुनः श्रम स्वीकृति दिन सक्नेछ । कल्याणकारी कोष र बिमाको रकम दूतावासमै बुझाउन सकिनेछ ।
‘दूतावासबाटै पुनः श्रम स्वीकृति पाउनुपर्ने मागलाई सरकारले सम्बोधन गरेको छ,’ गैरआवासीय नेपाली संघका सचिव डिबी क्षेत्रीले भने, ‘करार अवधी सकिनसाथ स्वदेश जान नपाउने कामदारलाई ठूलो राहत मिलेको छ । यसले आर्थिक रुपमा पनि कामदारलाई फाइदा पुर्याउँछ ।’
बिदामा आएर पुन गन्तव्यस्थानमा फर्किने कामदारको श्रम स्वीकृतिको म्याद तीन महिनाको भए मात्रै अध्यागमनले विदेश जाने अनुमति प्रदान गर्ने गरेको छ । श्रम स्वीकृतिको अवधीभित्र दुर्घटना वा अंगभंग भएमा मात्रै वैदेशिक रोजगार बोर्डबाट पाउने सुविधा प्राप्त गर्न सकिन्छ ।
श्रम स्वीकृतिको म्याद नसकिएको अवस्थामा कामदारको मृत्यु भएमा उसको परिवारले बिमा वापत कम्तीमा १० लाख र बोर्डबाट ७ लाख रुपैयाँ प्राप्त गर्नसक्छन् । यस्तै मृतकको बालबालिकालाई सरकारले निशुल्क रुपमा १२ कक्षासम्म पढाइदिने व्यवस्था पनि गरेको छ र परिवारलाई उपचारका लागि ५० हजारसम्म दिने गरेको छ ।
अब यसलाई यथासिघ्र कार्यान्वयनमा ल्याइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बताए । ‘दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था कानुनमा आयो । यसले कार्यान्वयन गर्नका लागि बाटो खुलेको छ,’ उनले भने, ‘परराष्ट्र मन्त्रालयसँग समन्वय गरी यो काम सुरु हुन्छ ।’कान्तिपुर बाट साभार
August 23, 2019 7:25 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन