देशमा कमाएर ऋण तिर्न नसकेपछि श्रीमानलाई विदेश पठाउन पर्याे
आरती साह/धनुषा ।
मेरो विवाह १७ वर्षकै उमेरमा भयो । मैले एक परदेशीसँग बिहेको हुँ । आज पनि मेरो श्रीमान् वैदेशिक रोजगारीमै हुनुहुन्छ । तर बिहे हुँदाको समय र अहिलेको समय अलिक फरक छ ।
त्यो बेला श्रीमान् साउदीमा हुनुहुन्थ्यो । अहिले कतारमा हुनुहुन्छ । म पनि अहिले त आफ्नो हातमा भएको सानोतिनो भए पनि सीपको प्रयोग गरेर व्यवसाय गरिरहेको छु ।
बिहे हुँदा म ९ कक्षामा पढ्दै थिएँ । एसएलसी दिँदा त छोरी जन्मिइन् । त्यसपछि मेरो पढाइ रोकियो । श्रीमान् पनि साउदीबाट फर्किएर यतै काम गर्न थाल्नुभयो । तर सोचेजस्तो नहुने रहेछ । यहाँ काम गर्दा घर चल्यो तर ऋण तिर्न सकिएन । किनकि घरको ऋण आठ लाख हाम्रो भागमा आयो । यहाँ कमाएर त्यो ऋण तिर्न नसक्ने अवस्था आएपछि के गर्ने भन्ने थियो ।
मलाई त श्रीमानले त्यति साह्रो कुरा गर्नुभएन । तर उहाँले भित्र भित्रै घर परिवारसँग सल्लाह गरेर विदेश पक्रिया गरिसक्नुभएछ । मलाई सोधेको भए त म जान दिने थिइनँ । त्यही भएर पनि होला उहाँले मलाई भन्नुभएन । जाने दिन मात्र भन्नुभयो । अब हिँड्न ठिक परेको मानिसलाई त कसरी रोक्ने र ।
कतारमा पिज्जा विभिन्न ठाउँमा पुर्याउने काम हो भनेका छन् । त्यो काममा जान पनि म्यानपावरलाई २ लाख ८० हजार रुपैयाँ बुझाउन पर्यो । अहिले त ऋण १० लाख रुपैयाँ भएको छ ।
यता म पनि केही न केही काम त गर्न पर्छ भन्ने लागेर व्युटिपार्लर र कस्मेटिक सामानको व्यवसाय गरिरहेको छु । मैले आप्रवासी नेटवर्कबाट परदेशीको श्रीमती भएकै कारणले एक महिनाको व्युटिपार्लरको सीप सिक्न पाएँ । त्यही सीप सिक्न पाएकाले आज आफ्नो खर्च चलाउने उपाय पनि निकालेको छु ।
मेरो पार्लरको नाम पनि आप्रवासी व्युटिपार्लर नै राखेको छु । यहाँ गाउँमा यसो थ्रेडिङहरु गर्न चाहिँ आउनुहुन्छ मानिसहरू । कपाल काट्ने यताउता काम चल्छ । ठिकै छ । यसबाट मैले यहाँ मेरो र बालबच्चाको खर्च पु¥याइरहेको छु । अहिले त छोरा पनि जन्मिएको छ । सानो बाबुलाई सासुले हेरिदिनुहुन्छ । त्यही भएर मैले पार्लर खोलेर बस्न पाएको छु ।
अहिले ११ कक्षामा भर्ना पनि भएको छु । मैले चाहेको कुरा चाहिँ घरबाट रोक्नुभएको छैन । त्यही भएर पनि मलाई सहज भएको छ । मन त पढेर टिचर बन्ने थियो । तर पढाइ छुटेपछि मन मार्न परिहाल्यो । महामारीकै समयमा श्रीमान् पनि परदेश जानुभएको छ । सम्झँदा त कति नराम्रो लाग्छ । देशमा अलिक राम्रो रोजगारी पाएको भए त आज साथमै भइन्थ्यो होला जस्तो लाग्छ । तर के गर्ने बाध्यताले थिचेपछि यस्तै हुँदो रहेछ ।
अब यो पार्लर व्यवसाय अलिक राम्रो चल्यो भने यसलाई निरन्तरता दिने र पछि श्रीमानलाई पनि स्वदेश बोलाउने मेरो इच्छा छ । उज्यालो
February 23, 2022 12:26 pm | बेरोजगार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला