

हातमा सीप र क्षमता छैन भने भिजिट भिसामा यूएई नआउनुहोस्

पछिल्लो समय यूएई खाडीका देशहरूमा रोजगारीका लागि आकर्षक गन्तव्य मानिन्छ । खाडीका देशहरू मध्येमा यूएईलाई विकासदेखि स्वतन्त्रताको दृष्टिकोणबाट समेत आकर्षक गन्तव्य मानिन्छ ।
यही कारण पनि नेपालीहरूको आकर्षण बढ्दै गएको छ । यहाँ आउन त्यस्तो अप्ठेरो पनि छैन । घुम्न आउनेहरूलाई यूएईले अन्य देशका नागरिक सरह नै भिजिट भिसा नेपाली नागरिकलाई पनि उपलब्ध गराइरहेको छ । यदि आफूसँग दक्षता र क्षमता छ भने काम पाउन पनि त्यति अप्ठेरो छैन ।
तर के भयो भने यूएईले दिने भिजिट भिसाको दुरुपयोग भएको छ । नेपालसहित साउथ एसियाका विपन्न वर्गका मानिसका लागि यो भिसा दुरुपयोग भयो भन्दा फरक पर्दैन । यूएईले दिने भिजिट भिसा भनेको घुम्नका लागि दिने हो ।
नेपाली होस् या अरू कुनै देशको नागरिक उसले यहाँ आएर काम गरोस् भन्ने अभिप्रायले यूएईले भिसा दिँदैन । घुम्नका लागि लिइने भिसामा यूएई आएर काम गर्छु भन्नु हाम्रो नै मूर्खता हो । तर भयो के भने भिजिट भिसामा आउने र काम खोज्ने गर्न थालियो ।
कतिपयले त भिजिट भिसामै आएर पनि काम गरेका छन् र काम पाएका पनि छन् । तर जो मानिस दक्ष छ, जोसँग सीप छ उसले हो भिजिट भिसामा आएर काम पाएको भनेको । भिजिटमा आएर काम खोज्नै नहुने भन्ने पनि होइन । यूएई सरकारले पनि यो छुट् दिएको छ ।
आफूसँग सीप र क्षमता छ भने काम खोज्न सकिन्छ । तर केही सीप पनि छैन, भाषिक क्षमता पनि छैन भने यहाँ भिजिट भिसामा आएर काम पाउन त्यति सहज छैन । नेपालमा एउटा सामान्य रोजगारीमा पनि बिक्न नसकेको मानिसलाई भाषिक कठिनाइहरू हुन सक्छन् ।
तर यति हुँदा हुँदै पनि बुझेर होस् या नबुझी पनि कतिपय व्यक्तिहरू आइरहनुभएको छ । हातमा सीप पनि छैन, काम खोज्ने दरिलो माध्यम पनि छैन र भाषिक क्षमता पनि छैन भने के गर्ने त । यो यस्तो परिस्थितिमा अप्ठेरो पर्छ । बाध्यतामा परेकाहरूलाई म्यानपावर वा एजेण्टले पनि काम पाइन्छ या लगाइदिन्छु भन्न सक्छन् तर उनीहरूको भनाइ सधैँ चासो हुन्छ भन्ने छैन । त्यही कारणले नै यो परिस्थितिको सृजना हुने । त्यस कारण तपाईँ हामी आफैँ सचेत हुन पर्छ ।
यति हुँदा हुँदै पनि तपाईँ दक्ष मानिस हो र तपाईँमा सीप छ, भाषिक समस्या पनि छैन भने यूएईमा आएर हिजो पनि काम खोज्न सक्नुहुन्थ्यो र आज पनि सक्नुहुन्छ ।
कस्तो अवस्थामा भिजिटमा काम खोज्न यूएई नजाने
हातमा कुनै पनि कामको सीप छैन भने भिजिट भिसामा आएर मैले सजिलै काम पाउँछु भनेर नसोच्नुहोस् । यहाँ पढाइको प्रमाणपत्र भन्दा पनि सीप चल्छ । यसको अर्थ पढाइ चाहिँ चाहिँदैन भनेको हैन तर शिक्षा सँगसँगै सीपलाई पनि मान्यता दिइन्छ । डिग्री नै गरेको छ भने पनि हातमा सीप छैन भने प्रमाणपत्र खोस्टो सरह हुन्छ ।
तपाईँले एसएलसी पास गर्नुभएको छ तर तपाईँको हातमा सीप छ भने तपाईँले अलिक सहज हिसाबले काम पाउन सक्नुहुन्छ । प्राविधिक ज्ञान छ भने पनि काम पाउन सहज छ । जस्तो तपाईँ एउटा कार्पेन्टर हो, इलेक्ट्रिसियन हुनुहुन्छ, इन्जिनियर आदी यस्ता खालका प्राविधिक ज्ञान भएको व्यक्ति हुनुहुन्छ भने अरूको तुलनामा तपाईँलाई काम पाउन सहज हुन्छ । तपाईँको पढाई पनि प्राविधिक हो र सीप पनि छ भने तपाईँलाई अप्ठेरो नपर्न सक्छ ।
तर हैन मसँग स्नातक पढेको प्रमाणपत्र छ भनेर आउनुभयो भने त्यसबाट तपाईँले काम नपाउने सम्भावना हुन्छ । यहाँ आएर कतिपयले काम खोजिदिन प¥यो भन्नुहुन्छ । अनि हामीले तपाईँसँग के सीप छ, के ज्ञान छ भन्दा मैले स्नातक पास गरेको छु भन्नुहुन्छ ।
सीप चाहिँ के छ त भन्दा त्यही पढाइको प्रमाणपत्र मात्र भन्नुहुन्छ । अनि काम पनि कस्तो चाहिएको छ त भन्दा भित्रको कुर्सीतिर बस्ने एसी भएको होस् भन्ने हुन्छ धेरैको चाहना । यसको अर्थ के हो भने हामीमा क्षमताभन्दा बढी अपेक्षा छ । त्यस कारण म चाहिँ के भन्छु भने जोसँग सीप छैन त्यो मानिस काम खोज्नका लागि भिजिट भिसामा नआउनुहोला ।
यूएईले रोजगारी खोज्न दिने नयाँ भिसा
यूएईले आउँदो अक्टोबरदेखि ‘जब सिकर भिसा’ दिने भन्ने कुरा खबरहरूमा आएको छ । त्यसको लागि न्यूनतम आधारभूत कुरा भनेको स्नातक तह पास गरेको हुनु पर्ने र त्यसलाई यहाँको परराष्ट्र मन्त्रालयमा प्रमाणीकरण गर्नु पर्ने भन्ने जस्ता कुराहरू आएको छ । तर धेरै विस्तृतमा बुझ्न पाएका छैनौँ । किनकि यो नियम लागू नभइसकेको हुँदा यूएई सरकारले पनि प्रस्ट रूपमा भनिसकेको छैन ।
यो भिसामा आउन स्नातक पास गर्नु पर्ने आधारभूत नियम भयो तर पढाइ मात्र हुनु नै सर्वेसर्वा होइन फेरि पनि । यसको अर्थ चाहिँ शिक्षा कम भएका र भाषिक समस्या भएकाहरू नआउन भन्ने हो । सँगसँगै तपाईँसँग क्षमता पनि हुनुपर्छ भन्ने हो ।
हामी प्रस्ट हुनु पर्ने कुरा चाहिँ के हो भने नेपालीहरू यूएईमा अलपत्र पर्नुमा यूएई सरकारको कुनै हात छैन । यूएईले भिजिट भिसा काम खोज्नका लागि दिएको होइन । यूएईले यो भिसा अन्य देशका नागरिकलाई जस्तै नेपालीलाई पनि घुम्नका लागि दिएको हो ।
हामी सदैभरि म्यानपावर र दलालहरूले ठगे भन्छौँ । म तिनीहरूलाई मात्र पनि दोष दिन्न । त्यसमा हामी आफैँ पनि दोषी हौँ । हो पहिला पहिला मानिसहरूलाई धेरै जानकारी थिएन, जानकारी लिने भरपर्दो माध्यम पनि थिएन । पासपोर्ट लगेर म्यानपावर र एजेण्टलाई बुझायो उसले जे जे भन्छ त्यही गर्न हामी बाध्य थियौँ । यस्तो हुँदा अप्ठेरोमा पर्ने सम्भावना पनि बढी हुन्थ्यो ।
तर अहिले अवस्था त्यस्तो छैन । अहिले त हामीसँग मोबाइलहरू छ । स्मार्ट फोन छ । जस्तो सुकै ठाउँ भए पनि अहिले सूचना लिन चाहने हो भने हामी सूचनाको पहुँचबाट टाढा छैनौँ । अहिले सबै जनाले मिडिया, पत्रकारदेखि यूएईमै बसोबास गरिरहेका नेपालीले पनि के कृपया भिजिट भिसामा नआउनुहोस् नै भनिरहेका छौँ । बरु दुई चार महिना कुर्नुहोस् तर गैरकानुनी माध्यमबाट नआउनुहोस् ।
श्रम स्वीकृति लिएर कानुनी च्यानलबाटै आउनुहोस् । भिजिटमा आएर काम खोज्न एकदमै गाह्रो छ । तर यति हुँदा हुँदै पनि भिजिट भिसामा आउनेहरूमा सबैभन्दा धेरै पढेलेखेका र जाने बुझेकैहरु देखिन्छन् । प्लस्टु गरेका वा स्नातक गरेकै हुनुहुन्छ ।
यसको मतलब उहाँहरुलाई सूचना जानकारी छैन भन्ने होइन । दुई तीन लाख तिर्न सक्ने, हात हातमा आई फोन हुने, प्लस्टु, ब्याचलर पढेका मानिसहरूलाई ज्ञान नभएर आएर कसैले फसाएको भन्न मात्र पनि मिल्दैन । हामी आफैँ पनि दोषी छौँ ।
अब अहिले त यूएई सरकारले जागिर खोज्न आउनेहरूका लागि सहज बनाइदिने भएको छ । तर यसो भन्दैमा स्नातक गरेको प्रमाणपत्र हुँदैमा यूएईले बेस्सरी काम दिइहाल्छ, स्वागत गरिहाल्छ भन्ने त होइन । तपाईँ रोजगारी खोज्ने भिसामा आउँदैमा यहाँ जागिर पाइहालिन्छ, यूएईले जागिर दिइहाल्छ भन्ने सोच्नुहुन्छ भने फेरि पनि तपाईँको मूर्खता हुन्छ । तपाईँसँग सीप छ भने तपाईँ फस्नुहुन्न ।
पैसा कमाउन बस्नेहरूले त तपाईँलाई फसाउन वा कमाउन हरेक उपायहरू अपनाउन सक्छन् । तर तपाईँ कति फस्ने भन्ने कुरो चाहिँ तपाईँको हातको भयो । तपाईँ सजग हुनुभयो भने दुरुपयोग हुन्न नत्र समस्या उस्तै नै रहन्छ ।
तपाईँ दक्ष हुनुहुन्छ भने विदेशबाट विभिन्न प्रक्रिया अपनाएर श्रमिक ल्याउनुभन्दा यूएईमा आइसकेकाहरूलाई रोजगारी दिन यहाँका रोजगारदातालाई पनि सहज हुन्छ । एउटा श्रमिक ल्याउन रोजगारदाताले भिसा, टिकटदेखि धेरै प्रक्रिया गर्नुपर्ने हुन्छ ।
जो यहाँ आइसकेको छ भने कम लगानीमा कामदार राख्न सक्छ । यदि दक्ष छ भने रोजगारदाताले भिजिटमा आउनेहरूलाई पहिलो प्राथमिकता दिन्छन् काममा राख्न । म आफैँ पनि सानो व्यवसाय गरिरहेको मान्छे मेरो अनुभव के छ भने मैले यो बीचमा जति पनि स्टाफ राखे उनीहरू सबै भिजिटमा आएका नै हुन् । एक दुई जना मात्र नेपालबाट ल्याएको हो ।
यहाँ आइसकेकाहरूलाई काममा राख्दा मात्र भिसा परिवर्तन गर्दा हुन्छ । त्यस कारण तपाईँ यूएई आउने सोच्दै हुनुहुन्छ भने दक्ष भएर आउनुहोस् ।
अनलाइनमार्फत नै अहिले त धेरै कुराहरू बुझ्न सकिन्छ । त्यस कारण कम्पनी कस्तो हो, . कति नेपाली कार्यरत छन्, तलब कतिको समयमा दिन्छ, सेवा सुविधा कस्तो छन् भन्ने कुरा पहिले नै बुझ्नुहोस् । यहाँ आएपछि पछुताउनुभन्दा पहिला नै बुझ्दा फाइदा हुन्छ । नेपालबाटै पनि यहाँका कम्पनीहरूमा रोजगारीका लागि अप्लाइ गरेर आउन सक्नुहुन्छ ।
तर तपाईँसँग दक्षता छैन भने नआउनुहोस् । यहाँ आएपछि खान बस्न समस्या हुन सक्छ काम नपाउँदासम्म । त्यस कारण कि त आफ्नो साथीभाइ आफन्त को छन् उनीहरूसँग समन्वय र सल्लाह गरेर आउनुहोस् र उनीहरूको मै केही समय बस्नुहोस् । नत्र होटलमा बस्न र खान पुग्ने पैसा लिएर आउनुको अर्को विकल्प हुँदैन ।
आफ्नो रुचिको क्षेत्र पहिचान गर्नुहोस् । जुन क्षेत्रमा आफू काम गर्न जाने हो त्यससँग सम्बन्धित सीप चाहिँ सिक्नुहोस् । जस्तो तपाईँ होटलका लागि आउन लाग्नुभएको हो भने तालिम लिनुहोस् । विषयको सामान्य ज्ञाता भएर आउन मेरो तपाईँहरूलाई सुझाव छ ।
नआउनुहोस्, विदेश आउन हुन्न म भन्दिन । खोक्रो आदर्शले मात्र पनि घरको चुलो बल्दैन र जीवन चल्दैन । अहिलेको युगमा हामी जहाँ गएर पनि आफ्नो क्षमता अनुसारको काम गर्न सक्छौँ । तर तपाईँ दक्ष भएर आउनुहोस् । उज्यालो
(व्यवसायी जे सागरसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित । )
September 15, 2022 5:11 pm | बेरोजगार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायली सेनाले स्वीकार्यो आफ्नो गल्ती

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

