दाङ–३ मा दीपक गिरी र कोमल वलीको चुनावी प्रतिस्पर्धा
दाङ – मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ दाङ चुनाव क्षेत्र–३ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी र नेकपा एमालेकी उम्मेदवार कोमल वली मुख्य प्रतिस्पर्धी रहेका छन् ।
गिरी र वलीको चुनावी प्रतिस्पर्धामा कसले बाजी मार्ला भन्नेमा दलका आफू केन्द्रित दाबी त छँदैछन् । उनीहरुको प्रतिस्पर्धाले पश्चिम दाङको चुनावी परिवेश पनि तातेको छ । पूर्व–मन्त्री तथा कांग्रेसका केन्द्रीय नेता गिरी र गायिका तथा सञ्चारकर्मी वलीमध्ये कसले जित हात पार्ला भन्नेमै अहिले बहस चर्केको छ ।
पश्चिम दाङको हेकुलीमा जन्मिनुभएका गिरी नेपाल विद्यार्थी संघको राजनीति हुँदै केन्द्रीय राजनीतिमा आउनुभएको हो । उहाँ निकै प्रखर वक्ता र विचारप्रति खरो नेताको रुपमा चिनिनुहुन्छ । कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएका गिरी २०५१ मा शंकर पोखरेलसँग र २०६४ मा नेकपा माओवादीकी सुष्मा शर्मा घिमिरेसँग यही क्षेत्रमा पराजित हुनुभएको थियो । २०७० सालमा भने एमालेका नेता स्व. उत्तरकुमार वलीलाई पराजित गरेर उहाँले जित हासिल गर्नुभएको थियो । त्यही कार्यकालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सिँचाइ मन्त्री पनि हुनुभयो । आफू मन्त्री हुँदा गिरीले बृहत् सिँचाइ परियोजना स्थापना गरेर जिल्लामा सिँचाइका क्षेत्रमा काम गरेकाले पनि स्थानीयले गिरीलाई काम गर्न सक्ने व्यक्तिको रुपमा हेर्छन् ।
यस्तै, पश्चिम दाङमा जन्मेर लामो समय रेडियो नेपालमा समाचार वाचिकाका रुपमा आफ्नो छवि बनाउनुभएकी कोमल वलीको पहिचान गायिका र सञ्चारकर्मीको रूपमा छ । उहाँका धेरै गीत चर्चामा पनि रहेका छन् । कोमल वली राप्रपा हुँदै नेकपा एमालेमा आउनुभएको हो । २०७४ सालको चुनावमा उहाँ एमालेको समानुपातिक सूचीमा पर्नुभएको थियो । वली राष्ट्रियसभा सदस्यसमेत बन्नुभएको थियो ।
समाचार पढेर होस् वा गीत गाएर आफ्नो पहिचान बनाउनुभएकी कोमल वलीले जित हासिल गर्न एमालेको भोट कायम राख्दै गठबन्धनको पाँच हजार भोट तान्न सक्नुपर्ने देखिन्छ । त्यो पाँच हजार भोट वलीको व्यक्तित्त्वले कमाउन सक्ने आँकलन गर्नेहरु पनि छन् । यस्तै, वलीको छवि यहाँका बासिन्दाको मनमा राम्रो रहेकाले त्यो प्रभाव भोटमा देखिने आश एमालेको छ । अर्कोतर्फ वलीका आलोचक पनि छन् । वर्षौंदेखि पार्टीमा दुःख गरेका नेता-कार्यकर्ताले पार्टी प्रवेशको छोटो समयमै वलीलाई उम्मेदवार बनाएको भनेर असन्तुष्ट हुने पनि छन् ।
पालिका तह चुनावमा गठबन्धनका वडाध्यक्षले पाएको मत पाउने सम्भावनालाई हेर्दा नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी बलियो भएको कांग्रेसको दाबी छ । वलीका जस्तै गिरीका आलोचकको पनि कमी छैन । वर्षौंदेखि आफूले मात्र अवसर पाएकाले युवाले अवसर नपाएको गुनासो पनि छ । दाङ—३ कांग्रेसभित्रकै गुट उपगुटको झगडा भइरहने र त्यसको असर चुनावमा देखिने क्षेत्र पनि हो । पार्टीभित्रकै अन्तर्घात हुँदै आएको क्षेत्र पनि हो । जसको फाइदा वलीलाई हुनसक्छ भन्ने एकथरीको बुझाइ छ । यस्तै, दाङको विकासका लागि केन्द्रमा प्रभाव पार्न सक्ने नेता भएकाले गिरीले लोकप्रिय मत ल्याउँछन् भन्ने विश्लेषण गर्नेहरु पनि छन् ।
यस्तो छ अंकगणित
गएको वैशाखमा सम्पन्न पालिका तह चुनावमा सत्ता गठबन्धनका दलहरूको तालमेल हुँदाहुँदै पनि तुलसीपुर उपमहानगरपालिमा प्रमुख र उपप्रमुखमा नेकपा एमालेले जितेको थियो । तुलसीपुरबाहेक यो क्षेत्रमा पर्ने दंगीशरण, शान्तिनगर र बबई गाउँपालिका नेपाली कांग्रेस एक्लैले जितेको थियो । दाङको निर्वाचन क्षेत्र ३ मा तुलसीपुर उपमहानगरपालिकाका १ देखि १५ वडा, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिका पर्छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ को चुनावका लागि यो क्षेत्रमा १ लाख ४८ हजार ४ सय ७५ मतदाता छन् ।
गएको पालिका तह चुनावमा वडाध्यक्षहरूले ल्याएको मत हेर्दा एमालेभन्दा गठबन्धन अगाडि छ । यो क्षेत्रमा सत्ता गठबन्धनका दलहरू कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षहरूले ल्याएको ४२ हजार ७३ मत छ । एमालेका वडाध्यक्षहरूले ३६ हजार ५ सय ९ मत ल्याएका छन् । वडाध्यक्षहरूले पाएको मतलाई नै आधार मान्ने हो भने यहाँ एमालेभन्दा गठबन्धन ५ हजार भन्दा बढी मतले अगाडि छ । पालिका तह चुनावमा आएको मतलाई जोगाउन सके गठबन्धनका उम्मेदवार गिरी बलियो अवस्थामा हुनुहुन्छ । उज्यालो
November 11, 2022 5:10 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
