Thursday 12th February 2026

खतराको घण्टी, नेपाली युवालाई भिटामिन डीको कमी

8 years अगाडी

घामले छाला डढ्छ भन्ने भयले युवायुवती घरबाहिर निस्कदैनन् । विहान-बेलुकी घाम ताप्ने फुर्सद हुन्न । खासगरी शहरी जीवनशैलीमा रमाइरहेका यो पुस्ताको शरीरमा भिटामिन-डीको कमी हुन थालेको छ । सबैलाई थाहा छ, शरीरका लागि आवश्यक पोषक तत्वमध्ये भिटामिन डि अपरिहार्य मानिन्छ, जुसको प्राकृतिक स्रोत हो घाम । भिटामिन डिले शरीरमा हड्डी बलियो बनाउने एवं त्यसको समूचित विकास गराउन सहयोग गर्छ । तर, अहिले अधिकांश शहरिया युवायुवतीको स्वास्थ्य परीक्षण गर्ने हो भने, उनीहरुमा भिटामिन-डी को कमी देखिने संभावना अधिक छ ।

भयावह छ अवस्था : अस्वस्थ तथा खानपान, बद्लिदो जीवनशैली तथा एकै ठाउँमा धेरै बेर बसेर काम गर्ने बानीका कारण पनि युवाहरुमा यो समस्या भयावह हुँदै गएको नर्भिक अन्तराष्ट्रिय अस्पतालकी पोषणविद् डा. परिनिति सिंह बताउँछिन् । भन्छिन्, ‘भिटामिन डीको कमी अहिले धेरैमा देखिएको छ । घाममा नबस्ने, एकै ठाउँमा धेरै बेर बस्ने बानी तथा गलत खानपानका कारण पनि भिटामिन डीको कमी बच्चा देखि बुढासम्मलाई भएको पाइन्छ’ ।

भिटामिन डीको कमी कम गर्नका लागि पनि भिटामिन ‘डी’ युक्त दूध, दही, मसरुम,माछा लगायतको सेवन गर्नु पर्ने उनको सुझाव छ भिटामिन ‘डी’ को मुख्य श्रोत घामको किरण भएकाले यसको कमी कम गर्न प्राकृतिक चिकित्सामा आधारित सुर्यचिकित्सा महत्वपूर्ण हुन सक्ने आयुर्वेदिक चिकित्सक डा. शंकर गौतम बताउँछन् । भन्छन्, ‘भिटामिन डीको मुख्य श्रोत भनेको घामको किरण नै हो । यसको पूर्तिका लागि पनि विहानी पखको घाम उचित मानिन्छ’ । त्यसबाहेक, दूध, दही, मसरुम लगायका प्राकृतिक खानेकुराले पनि शरीरमा भिटामिन डीको मात्रा बढाउन सघाउ पुर्‍याउने उनले बताए ।

उनका अनुसार घामको किरणबाट पाइने भिटामिन डीले हड्डीलाई बलियो बनाउने मात्र नभई सम्पूर्ण शरीरलाई समेत बलियो बनाउन मद्दत गर्छ । साथै, शरीरको प्रतिरोधी क्षमता बढाउन समेत भिटामिन डीको महत्वपूर्ण भूमिका हुन्छ ।तर दिनभरको घरको काम तथा अफिसमा एउटै ठाउँमा लामो समयसम्म बसेर काम गर्ने बानीका कारण मानिसहरु धेरै बेर घाममा बस्न पाउँदैनन् । त्यसबाहेक, शरीर ढाक्ने कपडाका कारण पनि मानिसहरु घामको सम्पर्कमा आउँदैनन् । जसका कारण शरीरमा भिटामिन डीको कमी हुने गर्छ ।त्यसबाहेक, शरीरमा हुने हर्मोन सम्बन्धि गडबडीका कारण पनि शरीरमा भिटामिन ‘डी’ को कमी हुने गर्दछ । त्यसबाहेक, सुत्केरी महिला तथा महिनावारी सुक्ने उमेरका महिलाहरुमा पनि यो समस्या धेरै रहेको पाइन्छ ।

शरीरमा ‘भिटामिन डी’ को सही मात्रा : रगतमा भिटामिन डीको मात्रा ७५ न्यानो ग्राम भएमा सही मानिन्छ । त्यसभन्दा तल अर्थात रगतमा भिटामिन डीको मात्रा ५० देखि ७५ न्यानो ग्रामको बीचमा भएमा व्यक्तिलाई भिटामिन डीको कमी भएको मानिन्छ ।अन्तराष्ट्रिय मापदण्ड अनुसार पुरुषको हकमा २०४ देखि २८८ युनिट भिटामिन डी हुनु पर्छ । त्यस्तै, महिलाको हकमा प्रतिदिन १४४-२६६ प्रति युनिट भिटामिन डी हुनुपर्छ ।यदी रगतमा तोकिएको युनिट भन्दा कम भिटामिन डी रहेको पाइएमा त्यसलाई भिटामिन डीको कमी मानिन्छ । शरीरमा भिटामिन डीको कमी भएमा यी लक्षणहरु देखा पर्ने गर्दछ । जुन यस प्रकार छ ।

शरीरमा भिटामिन डीको कमीको लक्षण

-विना काम थकान महसुस हुनु

-जोर्नी दुख्नु

-खुट्टा तथा पैताला सुन्निनु

-धेरै बेर एकै ठाउँमा उभिनमा समस्या हुनु

-मांसपेशी कमजोर हुनु

चिकित्सकहरुका अनुसार शरीरमा भिटामिन ‘डी’को मात्रा ५० न्यायो ग्राम भन्दा कम भएमा त्यसलाई भिटामिन ‘डी’को कमी भएको मानिन्छ । यस्ता समस्या पुरुषको तुलनामा महिलामा बढी भएको पाइन्छ ।

शरीरमा भिटामिन डीको कमीको लक्षण : विना काम छिटै थकान महसुस हुनु, जोर्नी दुख्नु, खुट्टा तथा पैताला सुन्निनु, धेरै बेर एकै ठाउँमा उभिनमा समस्या हुनु, कपाल झर्नु तथा मांसपेशी कमजोर हुनु शरीरमा भिटामिन डीको कमीको प्रमुख लक्षण हो । यस्ता लक्षणलाई मानिसहरुले ज्यादा गम्भीरतापूर्वक लिदैनन् । जबकी, यही लक्षण पछि गएर गम्भीर समस्याका रुपमा परिणत हुने गर्दछ । भिटामिन ‘डी’को कमीले विस्तारै विस्तारै पूरै शरीरलाई कमजोर बनाउदै लैजान्छ । र, वृद्धावस्थामा व्यक्तिको हड्डी, मांसपेशी दुख्ने गर्दछ ।

शरीरमा भिटामिन डीको कमीको कारण

-घरको कामकाजमा व्यस्त हुनु

-पूरा शरीर ढाक्ने कपडाको प्रयोग गर्नु

-हर्मोनल बदलाव

-रिफाइन्ड तेलको प्रयोग

भिटामिन ‘डी’को कमीले हुने असर

चिकित्सकहरुका अनुसार भिटामिन डीको कमीका कारण शरीर सिधा कुनै असर हुँदैन । तर, शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा क्याल्सियम सोस्ने क्षमता कम हुने गर्छ । जसका कारण शरीरमा हड्डी, मांशपेशी तथा जोर्नीमा विभिन्न समस्या उत्पन्न हुने गर्दछ । र, हड्डी फ्याक्चर हुने सम्मको समस्या पैदा हुन्छ ।

र, शरीरमा भिटामिन डीको कमी हुने महिलालाई मधुमेह हुने सम्भावना समेत उच्च रहने गरेको भारतमा सम्पन्न एक शोधले जनाएको छ । उत्तर भारतका करिब आठ सय महिलामा गरिएको उक्त शोधमा २० देखि ६० वर्ष उमेर समूहका महिलालाई समावेश गरिएको थियो । त्यस्तै, बेलायतको ‘न्युरोलोजी’ नामक पत्रिकामा छापिएको एक शोधले शरीरमा भिटामिनको कमी हुने मानिसहरुमा पछि गएर पागलपनको समस्या हुने पाइएको छ । उक्त शोधका लागि ६५ वर्ष माथिका एक हजार छ सय ५० भन्दा बढी मानिसहरुको अध्ययन गरिएको थियो ।

कसरी हटाउने भिटामिन डीको कमीको समस्या : चिकित्सकहरुका अनुसार खानाको माध्यमबाट भिटामिन डीको कमी कम गर्न थोरै मुश्किल छ । अण्डाको पहेलो भाग तथा विशेष किसिमको केही माछाहरुमा भरपूर मात्रामा भिटामिन डी पाइन्छ । त्यस्तै, दूध, मसरुम, दही लगायतका प्राकृतिक खानामा पनि थोरै मात्रामा भिटामिन डी पाइन्छ ।

तर यस्ता खाना सबैको लागि उपर्युक्त नहुन सक्छ । त्यसैले, शरीरमा भिटामिन डी पाउने सबैभन्दा राम्रो स्रोत भनेको घामको किरण नै हो । यसका लागि घाममा बस्दा सकेसम्म खुला कपडाको प्रयोग गर्नु पर्दछ । अझ सकिन्छ भने कम कपडाको प्रयोग गर्नु पर्छ । त्यसबाहेक, भिटामिन ‘डी’ सप्लीमेन्टको सेवनद्धारा पनि शरीरमा भिटामिन डीको कमीलाई कम गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

त्यसो भए कति बेेर घाम बस्ने ?  : घाममा बस्नका लागि यति नै समय चाहिन्छ भन्ने यकिन तथ्यांक त र्छैन । यद्यपी, शरीरमा भिटामिन डीको कमी पूरा गर्न चिकित्सकहरु दिनमा कम्तीमा एक घण्टा घाममा बस्न सल्लाह दिने गर्दछन् । त्यसमा पनि विहान सबेरैको घाममा बस्नु तथा साझको घाममा एक छिन हिड्दा शरीरका लागि आवश्यक भिटामिन डी पर्याप्त मात्रामा पाइने आयुर्वेदिक चिकित्सक डा. शंकर गौतम बताउँछन् ।

भन्छन्,’ यसको लागि विहानको घाममा बस्नु उचित हुन्छ । जबकी दिउसोको घाममा सुर्यको विकिरण (युभी रेज) आउने हुदाँ यसले शरीरमा हानी पुर्‍याउन सक्दछ ‘ । शरीरमा भिटामिन डी को कमी भएमा रिकेट्स, ओस्टियोमालेसिया लगायतका समस्या उत्पन्न हुने उनी बताउँछन् यसबाहेक, भिटामिन डीको सप्लीमेन्टको सेवनद्धारा पनि भिटामिन डीको कमी पूरा गर्न सकिने चिकित्सकहरुको भनाई छ । यसका लागि आवश्यक्ता अनुसार आठ हप्ता सम्म हप्ताको एक एक चक्की भिटामिन डी सप्लीमेन्ट सेवन गर्न सकिने डाइटिसियन डा. परिनिति सिंह बताउँछिन् । डा. सिंहका अनुसार एउटा व्यक्तिलाई हप्तामा कम्तीमा ६० हजार युनिट बराबरको भिटामिन डीको सप्लीमेन्टको आवश्यक्ता पर्दछ ।

          July 11, 2018 12:59 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...