Thursday 15th May 2025

सुरक्षा निकायलाई राजनीतिक दबाब र चलखेलबाट मुक्त बनाउँछु : गृहमन्त्री श्रेष्ठ

2 years अगाडी

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक दबाब र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिबद्धता जनाउनुभएको छ ।

गृह मन्त्रालयमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षा निकाय र गृह प्रशासनमा कुनै शक्ति केन्द्र वा कुनै राजनीतिक दबाबबाट मुक्त हुनुपर्ने बताउनुभयो । उहाँले सुरक्षा निकायमा हुने बिचौलियाको भूमिकालाई शून्यमा झारिने दाबी पनि गर्नुभयाे । देश र नागरिककाे निम्ति प्रहरी प्रशासन हो भन्ने बनाउने गरी काम गरिरहेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘राजनीति सफा नगरिकन राजनीतिले देशको परिवर्तन गर्न सक्दैन भन्ने कुरामा म अहिले प्रतिबद्ध छु । हाम्राे सुरक्षा निकाय र गृह प्रशासन कुनै शक्ति केन्द्र वा कुनै राजनीतिक दबाबबाट मुक्त हुनुपर्छ । यसका साथै चलनचल्तीमा सुनिएको विभिन्न प्रकारको अन्य चलखेल पनि हुने, बिचौलियको भूमिका पनि हुने भन्ने छ, त्यसलाई शून्यमा झारिनेछ । त्यो अब सम्भव हुँदैन । देश र नागरिककाे निम्ति प्रहरी प्रशासन हो । हाम्रो सारा नीति निर्माण देश र नागरिककाे सेवा भावका लागि हुनेछ । ठूलाबडा, सम्पन्न, धनीमानी, पहुँच भएका शक्ति केन्द्रमा जानसक्नेहरूको कुरा सुन्ने, तिनीहरुले भेटघाट पाउने तर गरिब, असहाय नागरिकले सम्पर्क गर्न पनि नपाउने स्थितिको फेरबदल गर्नुपर्छ । सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबाबबाट मुक्त राखिनेछ । अवाञ्छित चलखेलबाट मुक्त राखिन्छ ।’

मन्त्री श्रेष्ठले सुरक्षा निकायमा काम गर्नेहरूको मनोबल गिरेको खण्डमा सुरक्षा व्यवस्थामा नै प्रश्न उठ्ने भन्दै दबाबरहित प्रणाली स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले निष्पक्षताको आधारमा सुरक्षा निकायमा पदस्थापन हुने प्रणालीको विकास गर्ने बताउनुभयो ।

कार्यक्रममा बाेल्दै मन्त्री श्रेष्ठले देशका सबै वास्तविक नागरिकले नागरिकताको प्रमाणपत्र सहज ढङ्गले छिटो भन्दा छिटो प्राप्त गर्न पाउनुपर्छ भन्ने पक्षमा सरकार रहेको स्पष्ट पार्नुभयो । उहाँले संविधानले नागरिक हक प्रदान गरेको तर संविधानले नै ऐन बनाएरमात्रै नागरिकता उपलब्ध गराउने कुरा उल्लेख गरेकाले ऐन निर्माणकाे प्रक्रिया सुरु भइसकेको र छिटै वास्तविक नागरिकले नागरिकता पाउने बताउनुभयो । नागरिकताको विषय संवेदनशील भएकाले राष्ट्रिय सहमतिको पहल भइरहेको उहाँले उल्लेख गर्नुभयाे ।

मन्त्री श्रेष्ठले मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग बनाएको उल्लेख गर्दै आयोगले नै अब सबै पीडितका समस्या समाधान गर्ने पनि बताउनुभयो ।

मन्त्री श्रेष्ठले आम नागरिकले निर्बाध रूपमा अमनचयन पाउने कुराको सुनिश्चित गर्न चाहेको बताउनुभयो । उहाँले महिला हिंसाको प्रभावकारी नियन्त्रण र हिंसा गर्ने पीडकलाई तत्काल कानुनको कठघरामा ल्याई दण्डित गर्ने पक्षमा आफू लाग्ने प्रतिबद्धता पनि जनाउनुभयो । उज्यालो

          April 18, 2023 5:11 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...