 
						 
एमाले सांसद कोइरीको विषयमा संसदमा चर्काचर्की, बैठक ३० मिनेटका लागि स्थगित
 
 काठमाण्डाै – प्रतिनिधि सभाको शुक्रवारकाे बैठकमा नेकपा एमाले सांसद लक्ष्मीमहतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएको छ ।
बैठकका क्रममा सभामुख देवराज घिमिरेले सांसद कोइरी उपचारमा रहेका कारण संसद् बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका हुन् । सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० वैशाख १५ गतेसम्म सम्मका २१ वटा बैठकमा उपचारमा रहेका कारण अनुपस्थित रहेका सूचना जानकारी गराउनुभएको थियो । सभामुखको कुरालाई विरोध जनाउँदै सांसदहरूले संसद् अवरोध गरेका थिए ।
विरोध जनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले बिरामी भन्नु जग हँसाइको विषय भएको बताउनुभयो । उहाँले कोइरी बिरामी भएर अनुपस्थित भएका भन्ने शब्द नै संसद्को रेकर्डबाट हटाउन माग गर्नुभयो । संसद्ले झुटो कुरा गर्न नहुने उहाँको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले कोइरी बिरामी नभई फरार अभियुक्त भएका बताउनुभयो । भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उहाँले बिरामी भन्न नहुने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फरार अभियुक्तलाई अभियुक्त भनेर सभामुखलाई जानकारी गराउन नसक्नु प्रधानमन्त्री, गृहमन्त्री र कार्यव्यवस्था परामर्श समितिको दोष भएको बताउनुभयो ।
त्यस्तै एमाले सांसद रघुजी पन्तले सांसद कोइरीलाई लुकाउने पक्षमा नरहेको बताउनुभयो । उहाँले सरकारले पक्राउ गर्न नसकेको तर संसदमा तमासा देखाइएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले कोइरीलाई बिरामी भन्नु लज्जास्पद कुरा भएको बताउनुभयो । उहाँले काेइरीलाई चोख्याउन नमिल्ने भन्दै उहाँमाथि कारबाही हुनुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सांसद कोइरीलाई बिरामी भन्न नहुने र फरार अभियुक्तकै रूपमा लिनुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले सांसद कोइरी फरार भएको कुनै आधार आफूकहाँ नआएको बताउनुभयो । आफूले प्राप्त गरेको पत्रअनुसार बिरामी भएको सूचना सुनाइएको उहाँको भनाइ छ ।
सभामुखले आउँदा दिनमा सांसद कोइरीको विषयमा नेपालको संविधान र कानुन बमोजिम कारबाही भएर जाने भएकाले सांसदहरूलाई पटक–पटक संसद्को अवरोध खोल्न आग्रह गर्नुभएको थियो । सांसदहरू सभामुखको कुरा मान्न तयार नभएपछि संसद् बैठक ३० मिनेटका लागि स्थगित भएको छ । उज्यालो
April 28, 2023 6:02 pm | राजनीति 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
 
