

देश क्रमशः सुधारतर्फ छ, कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताउनुभएको छ ।
आज बुधवार बेलुकी काठमाण्डाैमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालकोभन्दा राम्रो नतिजा देखिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जति बेला म दोस्रो पटक प्रधानमन्त्री थिएँ । त्यति बेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो । संविधानप्रति विभिन्न विमति र असन्तुष्टि थिए । मधेस आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन । सङ्घीय ढाँचाको टुङ्गो लगाउन बाँकी नै थियो । तर निकै मेहनत गरियो, परिणाम पनि राम्रो आयो ।’
उहाँले थप्नुभयो, ‘सङ्घीयताको सफल अभ्यास गरियो । पालिकादेखि केन्द्रसम्मका चुनाव भए । आन्दोलनरत दल पनि सहमतिको प्रक्रियामा आए । अर्थतन्त्रमा राम्रो सुधार आयो । ७ दशमलव ५ अङ्कको आर्थिक वृद्धिदर हासिल गरियो, विद्युतभार कटौती अन्त्य भयो । ठूला आयोजनामा भौतिक र वित्तीय प्रगति पनि राम्रो भयो । यस पटक पनि त्यसभन्दा राम्रो गर्ने प्रयास भइरहेको छ ।’
देशको अर्थतन्त्र सुधारोन्मुख रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अहिले अर्थतन्त्रमा क्रमशः सुधार आउँदैछ । समष्टिगत आर्थिक परिसूचक सकारात्मक छन् । विदेशी मुद्राको सञ्चिति त उत्साहजनक नै छ । अरू क्षेत्रमा पनि राम्रो प्रगति हुँदैछ । तेस्रो कार्यकालको अन्तिमसम्म जाँदा दोस्रोभन्दा राम्रो नतिजा आउँछ भन्नेमा म विश्वस्त छु ।’
अयोधीप्रसाद यादवको जीवनीबारे उहाँले भन्नुभयो, ‘मधेस आन्दोलनमा भएको, संविधानप्रति असन्तुष्ट रहेको परिस्थितिमा अयोधीजी प्रमुख निर्वाचन आयुक्त हुनुभयो । उहाँ एकदम इमानदार र प्रतिबद्ध भएर नलागेको भए वडादेखि राष्ट्रपतिसम्मको चुनाव गर्न सजिलो थिएन । तर उहाँले गराउनुभयो । पुस्तकमा उहाँले जे–जति कुरा लेख्नुभएको छ, जस्ता प्रसङ्ग उठाउनुभएको छ, त्यहाँ कुनै ढोङ छैन, बरु इमानदारिता छ ।’
लोकार्पण कार्यक्रममा पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव, लेखक डा. यादवलगायतका वक्ताले पुस्तकका विविध पक्षमाथि चर्चा गर्नुभएको थियो । उज्यालो
May 3, 2023 9:19 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार शुरेस गुरुङ सम्मानित

