

बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई तोड्न चाहन्छु : ओली

काठमाण्डौ – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने बताउनुभएको छ । अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पार्नुभयो ।
शनिवार भक्तपुरमा आयोजित विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताउनु भयो । त्यस अवसरमा अध्यक्ष ओलीले बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेकोसमेत बताउनु भयो ।
बाँचुन्जेलसम्म पद छोड्न नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको उहाँको भनाइ थियो । ओलीले देशमा तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी रहेको जिकिर गर्दै अबको २० वर्षपछि त्यस्तो अवस्था देख्न नपर्ने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब २० वर्षसम्म मेरो अवसेन्स हुँदैहुँदैन । पहिले म अलि बिरामी थिएँ । मैले धेरै पटक अपरेशन गर्नुपर्यो । दुई पटक किड्नी ट्रान्सप्लान्ट गर्नुपर्यो । अहिले मैले ट्रान्सप्लान्ट गरेको किड्नीले धेरै राम्ररी काम गरिराखेको छ । कुनै प्रकारको समस्या छैन । अर्को कुरा अहिले पनि मेरो बुवा लगभग म जत्तिकै तगडा हुनुहुन्छ । मेरो बुवा नै म जतिनै तगडा हुनुहुन्छ भने, अहिले पनि २/४ किलोमिटर मेरो बुवा नै हिँड्नुहुन्छ भने मेरो बुवाले लौरो टेक्नुहुन्न अहिले पनि । मेरो बुवा नै त्यति तगडा हुनुहुन्छ भने मैले २० वर्ष त सक्रिय रहने विचार गरेको छु अब । तर २० वर्ष सक्रिय रहनुको अर्थ म २० वर्षै देशको नेतृत्व गर्छु, पार्टीको नेतृत्व गर्छु भनेको होइन । नेतृत्व गर्नेहरुलाई सहयोग गर्छु सक्रिय रहेर । एउटा के प्रचलन छ भने मान्छे बाँचुन्जेलसम्म पद छोड्ने नखोज्ने, पदमै टाँसिन खोज्ने, आवश्यक्ता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस् । बोल्न सकोस कि नसकोस् । तर पनि पदमा बसिरहन चाहने । त्यो प्रवृत्ति छ । त्यो प्रवृत्तिलाई चाहिँ मैले सचेतनतापूर्वक तोडन चाहन्छु ।’
अध्यक्ष ओलीले आफूले नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकिरहेको उल्लेख गर्दै नयाँ पुस्ताले त्यसलाई पराजित गरेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले आफूलाई देश र जनताप्रति माया गर्ने इमान्दार राजनीतिकर्मीको रुपमा बुझिदिन पनि आग्रह गर्नुभयो ।
ओलीले भन्नुभयो, ‘मेरा केही असफलताहरु छन् । मैले नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न सकिराखेको छैन । तपाईँहरुले ती षड्यन्त्रहरुलाई पराजित गर्नुपर्दछ । र, नेपाललाई साँच्चैको सार्वभौम, साँच्चैको स्वतन्त्र, साँच्चैको स्वाधीन, आफ्नो भूगोलको बिल्कुलै रक्षा गर्नसक्ने र राष्ट्रिय हितको रक्षा गर्नसक्ने र राष्ट्रिय स्वाभिमानको झण्डामाथि उठाउन सक्ने हुनुपर्दछ ।’
कार्यक्रममा ओलीले आफूलाई देशभक्तिले ओतप्रोत भएको गीत बढी मनपर्ने पनि बताउनु भयो । उहाँले विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रमबाट आफू खुसी भएको प्रतिक्रियासमेत दिनुभयो । उज्यालो
September 17, 2023 2:09 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार शुरेस गुरुङ सम्मानित

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १६ औ स्थापना दिवश एवम श्रमिक सचेतना कार्यक्रमको सम्पूर्ण तयारी।

