Tuesday 1st July 2025

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

14 hours अगाडी

असार १५ मा किसानहरू हिलोमा डुबेका सबै तस्बिर/भिडियो अनि विप्लव दाजुको यो तस्बिर यथार्थ हो,’ सामाजिक सजालमा खेतको आलीमा बसेका विप्लवको तस्बिर साझा गर्दै मोहन बास्तोला लेख्छन्, ‘अरू नेताहरूले असार १५ मा हिलोमा पसेको त तिजमा पुरुषहरूले पनि नाचेर रमाइलो गरे जस्तो मात्रै।’

बास्तोलाले भनेको कुरामा धेरैले सहमत जनाएका छन्। सामाजिक सञ्जालमा देखाउनैका लागि असार १५ को तस्बिर  र भिडियो पोस्ट गर्ने बाढी चलेको बेला पछिल्लो समय किसानी पेसा अँगालेका विप्लवको तस्बिरले धेरैको ध्यान तान्नु स्वाभाविक थियो। त्यसैले बास्तोलाको पोस्टमा मदनकुमार अधिकारीले प्रतिक्रिया जनाइहाले– अरूको मुख चल्छ, विप्लव दाइको ‘पाखुरा’ चल्छ। माओवादीमा रहँदा बम र बारुदसँग खेलेका विप्लव अचेल माटोसँग खेल्छन्। विगतमा  बम विस्फोट गराएर नेपाल बन्द र चन्दा असुली गरेको आरोप उनलाई लाग्ने गरेको थियो। तर पछिल्लो समय विप्लव रक्त क्रान्तिबाट कृषि क्रान्तिमा लागेका छन्। कृषि क्रान्तिमार्फत समाज परिवर्तनमा लागेका विप्लवको पछिल्लो ‘आलु बम’ निकै चर्चामा छ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आफूहरूले दुई लाख किलो आलु विनोद चौधरीलाई बेचेसँगै यसको क्रान्ति रूपान्तरणको चर्चा चलेको हो। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालकै धनी उद्योगी विनोद चौधरीलाई आफूहरूले उत्पादन गरेर आलु बिक्री गरेको बताएका थिए।

यति मात्र हैन, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशका धेरै ठाउँमा विभिन्न खोले सामूहिक खेती गरिरहेको छ। शैक्षिक संस्था र व्यक्तिका बाँझो जग्गा भाडामा लिएर देशका विभिन्न जिल्लामा गरी झन्डै एक सयभन्दा बढी ठाउँमा सामूहिक खेती गरेको पार्टीले जनाएको छ। आलुसँगै लसुन लगायत अन्य तरकारी र गाई पालन, कुखुरा पालन र फलफूल खेती गरिएको छ। कम्युनिस्ट आन्दोलनको उद्गम स्थल रोल्पाको घर्ती गाउँमा उनीहरूले गरेको आलु र लसुन खेतीले धेरैको ध्यान खिचेको छ।

त्यस्तै उनी ‘आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवं कार्यकर्ता’ नारासहित नेकपा अहिले कर्णालीका बाँझो जमिनमा खेती अभियानमा सक्रिय छ। जुम्ला, कालिकोट, मुगु, हुम्लालगायतका जिल्लामा स्याउ, ओखर खेती र भेडा पालन अभियान सञ्चालन भइरहेको छ।

जुम्लाको हिमा गाउँपालिका–७, धौलापानीमा करिब १३ हजार वर्ग मिटर क्षेत्रफलमा २ हजार स्याउका बिरुवा तथा ४ सय दाँते ओखरका बिरुवा रोपिएको छ। यसका लागि सहिद परिवारकी कृष्ण कौरा शाहीको जग्गा २० वर्षका लागि लिजमा लिइएको छ। त्यस्तै कालिकोटमा गत फागुन १२ गते तिला गुफानगरपालिकास्थित फोईमा १ हजार स्याउ र ५ सय दाँते ओखर रोपिएको छ। नेकपाले गत वर्ष पनि त्यहाँ २ हजार स्याउ रोपेको थियो। हुम्ला, मुगु, सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिमका विभिन्न क्षेत्रमा पनि धान, कोदो, दाल तथा अन्य बाली लगाइएको छ। नेकपाले कालिकोटको रुप्सा गाउँका रामबहादुर बोहोराबाट २० लाखमा ९० भेडा खरिद गरेको थियो। हाल भेडाको सङ्ख्या १ सय १८ पुगेको छ। ती भेडाको रेखदेख ध्रुव सीको अध्यक्षतामा पाँच जनाको टोलीले गरिरहेको छ।

विप्लवले नेपाली युवाहरूलाई खाडीका मरुभूमिमा श्रम बेच्नुभन्दा स्वदेशमै श्रम गरौँ, उत्पादन बढाऔँ भन्दै कृषि र पशुपालनमा लाग्न आह्वान गरे। ‘‘राजनीति मात्र गरेर हुँदैन, उत्पादनसँग जोड्नुपर्छ,’ उनी भन्ने गर्छन्, ‘हिमालमा स्याउ, जडीबुटी, ओखर, पहाडमा सुन्तला, तराईमा धान, तरकारी तथा फलफूल उत्पादनमा जोड दिनुपर्छ।’

त्यसैले पनि विप्लवको  असारे तस्बिरले सार्थकता पाएको छ। ‘असार १५ को मेलोमा सामाजिक सञ्जालमा नक्कली किसानले माटो दलेर धेरै बोले,’ सामाजिक सञ्जालमा रूपक अर्याल लेख्छन्, ‘विप्लवको यो तस्बिरमा भने माटो बोलेको महसुस हुन्छ। नागरिक

          July 1, 2025 8:44 am | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...