Wednesday 13th May 2026

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण

1 month अगाडी

नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक विशेष समारोहका बीच स्थापना दिवस मनाएको छ। उक्त अवसरमा शाखाले पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि एक दिने अभिमुखीकरण कार्यक्रम समेत सफलताका साथ सम्पन्न गरेको छ। नेपालमा पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारहरूको हकहितका लागि क्रियाशील महासंघको गौरवमय ७१ वर्ष पुगेको अवसरमा कुवेतमा कार्यरत नेपाली पत्रकारहरूले ऐक्यबद्धता जनाउँदै प्रवासमा रहेर पनि नेपाली समुदायको आवाजलाई मूलधारको सञ्चार माध्यमसम्म पुर्‍याउन शाखाले खेल्दै आएको भूमिकाको चर्चा गरेका थिए।

शाखाका अध्यक्ष एकराज मल्लको अध्यक्षतामा अप्रिल ३ तारिख शुक्रबारका दिन कुवेतको साल्मियास्थित डाम्पा लाउन्च रेष्टुरेण्टको सभाहलमा आयोजित उक्त कार्यक्रममा कुवेतमा रहेर परोपकारी पत्रकारिता गरिरहेका मिडियाकर्मी तथा शाखाका प्रतिनिधि र सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्थापना दिवसको मुख्य आकर्षणका रूपमा आयोजित “समाचारमा एआई: अवसर कि खतरा?” (AI in News: Opportunity or Danger?) विषयक अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक दिपेन्द्र निरौलाले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, समाचार लेखन, सम्पादन र तथ्य जाँच (Fact-checking) मा एआईलाई कसरी सहायक उपकरणको रूपमा प्रयोग गर्ने भन्नेबारे विस्तृत जानकारी दिइएको थियो। साथै एआईले सिर्जना गर्न सक्ने ‘फेक न्युज’ को जोखिम, पत्रकारिताको विश्वसनीयता बचाउने उपायहरू र प्रविधिको प्रयोगमार्फत कम समयमा गुणस्तरीय सामग्री उत्पादन गर्ने प्राविधिक तथा सैद्धान्तिक पक्षबारे छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले यस्ता प्रशिक्षणले प्रवासमा रहेर पत्रकारिता सिक्दै गरेका र व्यावसायिक रूपमा संलग्न रहेका सबैलाई थप जिम्मेवार र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरे। स्थापना दिवस मनाइरहँदा केवल उत्सवमा मात्र सीमित नभई पेसागत दक्षता बढाउन अभिमुखीकरणमार्फत नयाँ ऊर्जा प्राप्त भएको सहभागीहरूको भनाइ थियो। नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी दिनहरूमा पनि पत्रकारहरूको हकहित, पेसागत सुरक्षा र क्षमता विकासका लागि यस्तै रचनात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

          April 4, 2026 1:50 am | Uncategorized,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...