सचेत नागरिकको कर्तब्य ।
धरम के.सी.
साउदी अरब – एउटा नेपाली नागरिक स्वदेशमा अवसर नपाउँदा बैदेशिक रोजगार खोज्छ । नेपालमा “शिक्षा, स्वास्थ्य र रोजगार (समेत) हरेक नागरिकका नैसर्गिक अधिकार”, यी नारा बनिसकेका छन् । तर, स्वदेशमै रोजगारको अधिकार अधिकांश नागरिकका लागि अझै पनि फगत ‘सपना’ हुन्, कथित अधिकार अवसर र सुविधामा परिणत भएका छैनन् ।
बैदेशिक रोजगारलाई बैकल्पिक अवसरका रूपमा खोज्न, रोज्न पाउने पनि हरेक नेपाली नागरिकको अधिकार नै हो । तर, सरकार स्वयमले यसमा आंशिक अंकुश (घरेलु महिला कामदारहरूलाई) लगाउँदै उत्पन्न अनेकन अनियमितता र विकृति रोक्न नसक्दा कतिपयले ठगी, शोषण, अन्याय, पीडा, बिचल्ली भोग्दै अन्ततः ठूलो पश्चाताप र निराशाको अनुभूति गरेका छन् ।
“स्वदेशमै अवसर दिन्छौं” भन्ने तर दिन नसक्ने, बैदेशिक रोजगारमा आफैंले श्रम स्वीकृति दिएर पठाउने तर त्यसलाई सुरक्षित, ब्यवस्थित, नियमित र न्यायपूर्ण बनाउन नसक्ने सरकारी अकर्मण्यता हुन, सरकार आफैंले बनाएको कानून र भए गरिएका निर्णयहरूको कार्यान्वयन गर्न गराउन नसक्नु पनि अकर्मण्यता, अनैतिकता र गैर जिम्मेवारीपनका पराकाष्टा नै हुन् । तर, यसरी सारा दोषहरू केवल सरकारलाई मात्रै थोपरेर सचेत नागरिक समाज पञ्छिन मिल्दैन ।
नागरिक समाजकै कुरा गर्दा हामीले थरिथरिका मानिस थरिथरिका भूमिकामा देख्छौं ।
अभियन्ताः यी सच्चा क्रान्तिकारी या परिवर्तनकारी हुन्छन् । प्रायः स्वविवेकमै काम गर्ने यो समूह प्रोएक्टिभ (स्वयं अग्रसर हुने, पहल गर्ने) र अन्तरआत्मालाई सुन्ने समूह हो । यी कुनै वाद या वादीबाट अभिप्रेरित नभई आफू(हरू)लाई असल लागेका कामहरूलाई नै “वाद” बनाउन लागिपरेका हुन्छन् ।
सहीलाई सही र गलतलाई गलत भन्न मान्न र तदनुरूपको समर्थन या विरोध गर्न यो समूह स्वतन्त्र हुन्छ । समाजका सच्चा सचेतक र अधिकारकर्मीहरू पनि यही समूहभित्र पाउन सकिन्छ । सामाजिक संघ संस्था र समाजसेवामा यस्ता मानिसहरू अपेक्षित हुन्छन् तर बिरलै पाइन्छन् ।
परिचालितः यो समूह कतै (कसै)बाट निर्देशित हुन्छन् र गर्न (भनिएको) काम मात्रै गर्छन् । यिनीहरूको भूमिका प्रायः प्रोएक्टिभ नभएर रिएक्टिभ हुन्छ । यिनीहरुले माग या दबाव नभई काम गर्न चाहन्नन् । जस्तो कि जागिर खाने कर्मचारीहरू, राजनैतिक संगठनमा आवद्ध कार्यकर्ताहरू ।
यो समूहको जटिलता के हो भने आफ्नो संस्था, संगठन, प्रतिस्ठान, ब्यवसाय, दल या वादको हर हालतमा बचाउ गर्नैपर्ने बाध्यतामा बन्दै एकोहोरिएका हुन्छन् । आत्मालोचना गर्दा पनि कतिको जागिर जाने, पदै खुस्किने या अनुशासनको कार्बाहीमा पर्ने भयले ग्रस्त हुन्छन् ।
निस्कृयः यो समूहले सामाजिक गतिविधिहरूमा खासै चासो राख्दैन अर्थात निश्क्रिय हुन्छ र विशुद्ध आफ्नो पेशा या ब्यवसायमै (मात्रै) सीमित र सकृय रहेको हुन्छ । अहिले जताततै ‘परिचालितहरू’ छ्यापछ्याप्ती देखिन्छन् । सच्चा ‘अभियन्ताहरू’ हराउँदै गएका छन् । यसको असर र मारमा ‘निश्कृयहरू’ पर्दैछन् । बैदेशिक रोजगाररत आम कामदारहरू जो प्रायः यही ‘निस्कृय’ समूहमा पर्छन्, उनीहरु पनि यो असर र मारबाट अछुतो छैनन् । परन्तु, सर्वाधिक मारमा छन् ।
त्यसो त सुशासन हरेक सरकारको नारा, अठोट र दाबी पनि हुन्छ । बर्तमान नेपाल सरकारका प्रधानमन्त्रीज्युले पनि यही नै आफ्नो सर्वोच्च प्राथमिकतामा परेको र सुशासन बिथोल्न चाहने भ्रष्ट तत्वहरूलाई शून्य सहनशीलताका साथ निर्मूल पार्ने पनि भन्नुभएको छ । तर, सुशासन उखान टुक्काले आउँदैन । यो त नीति, निर्णय र कानूनको कार्यान्वयन गर्दै जनतालाई अनुभूति दिनेगरी कार्यसम्पादन गर्ने विषय हो । यसको अनूभूति प्रवाशमा बैदेशिक रोजगाररत नेपालीहरूले पनि गर्न पाउनुपर्ने हो । यसको मापन र सुनिश्चितता विदेशमा पनि नेपालको नीति, निर्णय र कानून लागु भएको छ या छैन भन्ने तथ्यले देखाउने हो ।
आखिर बैदेशिक रोजगारमा नेपाल सरकारले नै पठाउने गरेको छ, चाहे सिधै होस (द. कोरिया र इजरायलमा) या संस्थागत (इजाजत प्राप्त म्यानपावर एजेन्सीहरू मार्फत विश्वभरि नै) या आफ्नै पहलमा ब्यक्तिगत श्रम स्वीकृति दिएर लिएर, नवीकरण (पुनः श्रम स्वीकृति) लिएर जाने नै किन होउन् । यी सबैप्रति राज्यको निश्चित दायित्व, कर्तव्य र जवाफदेहिता हुन्छ, हुनुपर्छ ।
यसका लागि नियोगहरूको भूमिका प्रधान र निर्विकल्प रहन्छ प्रवासमा । पछिल्लो समयमा केही दूतावासहरूले “श्रमिक सचेतना” भन्दै कार्यक्रमहरू गर्दै आएका छन् । यद्यपि ती कार्यक्रमहरूमा वास्तविक श्रमिकहरू अर्थात लक्षित समूहको उपस्थिति अत्यन्त न्यून देखिन्छ । तर पनि जे जति जस्ता सूचनाहरू प्रवाह गरिन्छन्, ती सबै बिशेषतः समस्यामा पर्ने (पर्न सक्ने) हरेक कामदारहरूका लागि उपयोगी, पूर्ण र प्रभावकारी हुनुपर्छ ।
समस्यादेखि समाधानसम्म पुग्ने मार्गचित्र (रोडम्याप), साधन स्रोत, विधि र प्रकृयासहित स्पस्ट हुनुपर्छ । विद्यमान कानुनहरू (नेपाल र गन्तब्य मुलुक दुबैका) मा टेकेर मात्रै कोही पनि पीडितहरूको रोजगार सुरक्षित र न्यायपूर्ण हुन सक्छ । कानुनी सचेतनाबिना अधिकार र न्यायपूर्ण र सुरक्षित हुन्नन् ।
अहिले प्रवासमा खट्किएको विषय नै पीडित कामदारहरूको अधिकार, न्याय, उद्धार र क्षतिपूर्तिको हो र छ । नियोगहरू कमसेकम रिएक्टिभ बन्नैपर्दछ । अर्थात, आफ्नो जानकारीमा आएका हरेक पीडितहरूलाई नेपाल र गन्तब्य दुबैको कानूनबमोजिम पाउनुपर्ने सुविधा, न्याय र क्षतिपूर्ति दिलाउन कुनै कसर बाँकी राख्नुहुन्न । कामदारका हक हनन हुने कुरामा र उनीहरूले पाउनुपर्ने सुविधा, न्याय एवं क्षतिपूर्तिका कुरामा कुनै सम्झौता गर्नुहुन्न । तर, यो खालको कार्यकुशलता नियोगहरूबाट देखिन सकेको छैन ।
कैयन महिनाको तलब छोडेर, कुनै न्याय र क्षतिपूर्ति नै नपाई, अझ कति त उल्टो जेल हुँदै स्वदेश फर्किनुपर्ने अवस्थालाई कतै ‘उद्धार’ मान्नै सकिन्न । नेपालबाट श्रम स्वीकृति ल्याई आएको एउटा बैध कामदारलाई इकामा नै नबनाइदिएर या भगाएर अबैध बनाउँदै, निरीह पार्ने र सबैतिरबाट निराश पार्दै भोकभोकै मर्ने अवस्थामा पुर्याउनु या ‘मर्ता क्या नही कर्ता’ भनेजस्तो विवश बनाउँदै भिखारीजस्तो कृपा र निगाहको पात्र बनाउनुमा आखिर को, किन र कसरी जिम्मेवार (कारक) हुन्छन ? यो कानूनले नै परिभाषित गर्ने बिषय हो ।
मूलतः त्यो नियामक सरकारी निकायको असफलता हुन्छ । किनकि कानूनको कार्यान्वयन गर्ने जिम्मेवारी (अख्तियारी) उनिहरूकै हुन्छ ।
उपरोक्त परिस्थितिमा न्यायपूर्ण, भ्रष्टाचारमुक्त सुशासनको कुरा केवल हावादारी गफमात्रै हुन्छ । यसमा नागरिक समाजको पनि ठूलो भूमिका अपेक्षित छ, अझ कामदारहरू स्वयम पनि जाग्न सक्नुपर्छ, आआफ्ना अधिकार, न्याय र सुविधाका लागि ।
जे बोलिन्छ, त्यही लेखिँदा र जे–जे लेखिएका छन, तिनलाई अक्षरशः ब्यवहारमा उतार्दा सुशासन टाढा छैन । बोलाउन वा गुहार्नै पर्दैन । स्वतः आउँछ र हरेक जन जनको मन मनबाट प्रस्फुटन हुनेछ ।
त्यसो हुन नसक्दा कसैको हित हुन सक्दैन । चाहे तीन चौथाईकै सरकार किन नहोस्, ढिलो चाँडो जनमनबाट बढारिनेछ । अहिले नै कति मानिसहरू विकल्पको खोजीमा छन् । विकल्प एउटा दललाई अर्को दलले विस्थापित गर्ने मात्रै हैन, व्यवस्था नै ठीक भएन भन्नेहरूको संख्या बढ्दो छ । हरेक १०/१५ वर्षमा व्यवस्था नै फेर्न भन्दै रक्तपात मच्चाइरहनुपर्यो भने देश नै कहाँ पुग्ला ?
August 31, 2018 4:04 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी