Thursday 12th February 2026

दाँतमा किरा लाग्यो ? यसरी गरौँ उपचार

7 years अगाडी

दाँत तीन तहले बनेको हुन्छ। पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ, मेडिकल भाषामा यसलाई इनामेल भन्छौं। दोस्रो तह इनामेलभन्दा भित्रको तह, जसलाई हामी ‘डेन्टिन’ भन्छौं। इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ। र, तेस्रो तह भनेको सबैभन्दा भित्री भाग हो, जसलाई हामी ‘पल्प’ भन्छौँ। यो तहमा रक्तसञ्चार भइरहेको हुन्छ र यो सबैभन्दा कमजोर हुन्छ। हाम्रो मुखभित्र हुने सात सयदेखि नौ सय प्रकारका ब्याक्टेरिया हुन्छन्। त्यसमध्येको एक हो ‘स्टेप्टोकोकस’।

हामीले खाएका पदार्थहरू जब दाँत र गिजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरूबीचको कापमा दन्त लेउका रूपमा अड्केर बस्छ। स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ। सो एसिडले ‘इनामेल’ खिइन थाल्छ। खिएको ठाउँबाट जाने ब्याक्टेरियाले भित्री भागमा संक्रमण गर्दै जान्छ। एसिडले दाँतको बाहिरी भाग अर्थात् इनामेल फोडेपछि त्यसभित्रका भागहरू फोड्न गाह्रो हुँदैन। इनामेल फोडेसँगै ब्याक्टेरियाले भित्र थप खोल्दै जान्छ । जब दाँतमा खोल्सिँदै जान्छ, खानेकुरा त्यहीँ गएर अड्किन्छ र अड्किएपछि थप एसिड उत्पादन हुन थाल्छ । झन्-झन् दाँत खोक्रिँदै जान्छ।

गुलियोले मात्रै बिगार्ने होइन दाँत : विशेष गरी बालबालिकालाई गुलियो खानेकुरा दिँदा दाँतमा किरा लाग्छ भन्ने भ्रम छ। गुलियो मात्रै होइन, जुनसुकै खाद्यपदार्थले पनि दाँत बिगार्छ, यदि त्यो दाँतमा रह्यो भने। तर, के पनि हो भने चकलेट र मिठाई खाँदा ती पदार्थहरू टाँसिने भएकाले छिटो खान मद्दत हुने हो। तर, चिनीपानी, महजस्ता गुलियो चिज खाँदा त्यसको असर भने कम हुन्छ। खानेकुरा दाँत वा मुखमा रहनासाथ एसिड उत्पादन भई त्यसले दाँत बिगार्ने हो।

दाँत जोगाउन के गर्ने ? : बिहान-बेलुका खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने। दाँत माझ्दा चपाउने भागमा पनि माझ्ने। बच्चालाई सुतेर खानेकुरा वा दूध खान नदिने। त्यसरी दिँदा खानेकुरा मुखभरि रहन्छ र दाँतमा एसिड उत्पादन तीव्र हुन्छ। कोल्डड्रिंक्स खाँदा सकेसम्म पाइपको प्रयोग गरौं। बोतलबाट वा गिलासबाट खाँदा दाँतको इनामेल बिगार्छ, तर पाइपबाट खाँदा दाँतलाई त्यति असर गर्दैन । बिस्कुट चक्लेट तथा अन्य खानेकुरा खाइसकेपछि सकेसम्म मुखकुल्ला गर्ने। हल्का कालो वा पहेँलो दाँत देखिनासाथ उपचारका लागि सम्पर्क गर्ने। सुरुमै जाँच गर्दा दाँतको उपचार सहज हुन्छ।

          September 5, 2018 10:07 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...