कता जाँदै छ मुलुकको संघीयता ?
विश्वमा नेपालसहित धेरै मुलुकहरुले संघीय प्रणाली अपनाइरहेका छन् । विश्वमा नेपालसहित हाल २५ वटा संघीय स्वरूपका मुलुकहरु रहेका छन् । विश्वमा हालसम्मको इतिहास हेर्दा धेरैजसो मुलुकको संघीयताले गरी खाएको छ । अर्थात् धेरै मुलुकहरुमा संघीयता फापेको छ भने कतिपय देशको संघीयता असफल भएका उदाहरण पनि छन् । हाम्रो देशको संघीयताले कस्तो गर्ला ? त्यो भने हेर्ने बाँकी छ । आशा गरौं, नेपालको संघीयताले पक्कै गरीखाने छ । संघीयता सफल हुनुमा राज्य भित्र बस्ने सबैको उत्तिकै भूमिका हुने गर्दछ । हाम्रो देशमा हाल तीन तहको संघीय संरचना रहेको छ । संघ, प्रदेश र स्थानीय । संघीयता बलियो हुनुमा तीनै तहहरु बलियो हुन जरुरी छ । संघीयता राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रक्रिया हो । त्यसैले संघीयता सफल या असफल हुनुमा नागरिकको भूमिका गौंण हुने गर्दछ । अर्कोतर्फ तिनै जनतालाई नेतृत्व गर्नेहरु र उक्त पद्धतिलाई कार्यान्वयन गराउने कर्मचारीहरु पनि उत्तिकै बफदार हुन जरुरी देखिन्छ ।
सामान्य भाषामा संघीयता भनेको सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीय स्तरका बेग्ला–बेग्लै तहमा बाँड्ने पद्धति नै संघीयता हो । नेपालको संघीय प्रणाली ठिक यहि लयमा रहेको छ । यसरी संघीयताको शक्ति उद्भव भएको स्थानमा शक्ति जानुलाई जनाउँदछ । संघीयतालाई बहुजातीय, बहुभाषिक तनाव समाधान गर्ने संवैधानिक र राजनीतिक औजारको रूपमा समेत व्याख्या गर्ने गरिन्छ अर्कोतर्फ सीमान्तीकृत समूहलाई सशक्तिकरण गर्ने उपायका रूपमा समेत यसलाई लिइन्छ । तर विडम्बना हाम्रो मुलकका धेरै जसो जनताले संघीयताको परिभाषा र व्याख्या राम्रोसँग बुझ्न सकेका छैनन् । संघीयताको नेतृत्व गर्नेहरुले समेत बुझेर या नबुझेर जनताहरुलाई बुझाउन सकेको छैन । सायद कतिपय नेतृत्वले संघीयतको परिभाषा र व्याख्या पक्कै पनि बुझ्न सकेका छैनन् ।
उनीहरुले जनतालाई संघीयता भनेको गाउँ गाउँमा सिहदरबार हो भन्ने मात्र पारेका छन् । नेपालको संघीयताका संरचनालाई हेर्दा संघ सबैभन्दा बलियो र त्यसपश्चात् प्रदेश भन्दा पनि स्थानीय तह बलियो देखिएको छ । अधिकार र शक्तिको हिसाबले संघपछिको स्थानीय तह नै अगाडि देखिएको छ । झट्ट हेर्दा नेपालमा दुई तहको संघीय प्रणालीनै ठिक हो कि ? भन्ने भान पनि पर्ने गएको छ । खैर, नयाँ संरचना लागू हुँदै गर्दा र नयाँ विधि अपनाउँदै गर्दा केहि सामान्य समस्याहरु देखा पर्नुलाई खासै नौलो र अनौठो मान्नु हुँदैन । यतिबेला नेपालसँग एउटै विकल्प रहेको छ, त्यो भनेको संघीयता कार्यान्वयन गराउनु हो ।

मुलतः विस २००७ सालपछि विभिन्न राजनीतिक व्यवस्था, प्रयोग, पद्धति र विधिहरु अवलम्वन गर्दै आएको नेपालले पछिल्लो समय उपयुक्त राजनैतिक व्यवस्थाको रुपमा संघीयतालाई लिइएको छ । त्यसैले हाल मुलुकले अपनाई रहेको संघीय प्रणालीबाट भाग्ने छुट कसैलाई छैन । संघीयता विश्व राजनीतिमा पछिल्लो समय देखिएको सबैभन्दा नयाँ र विकसित राजनैतिक व्यवस्था समेत हो कार्यान्वयनको पाटो जटिल भएता पनि हामीसँग यतिबेला संघीयतालाई हुर्काउनु र मलजल गर्नु बाहेक अन्य दोस्रो विकल्प छैन । त्यसका साथै पटक पटक राजनीतिक व्यस्थाको लागि लडेर थाकेका हामी नेपालीका लागि संघीय प्रणालीबाट भागेर जाने नयाँ ठाँउ समेत छैन । संघीयताबाट पछि हट्नु भनेको २००७ सालभन्दा पछिको अवस्थामा फर्कनु हो । त्यसैले संघीय प्रणालीलाई सफल बनाउनको लागि नागरिकहरु जिम्मेवार हुन जरुरी देखिन्छ । त्योभन्दा बढी राष्ट्रसेवक कर्मचारी र त्यसको अनुपातमा सबैभन्दा बढी नेतृत्वहरु जिम्मेवार हुन जरुरी छ ।
बिडम्बना ! हुर्कंदै गरेको संघीयतालाई कता–कता जिम्मेवार व्यक्तिहरुले नै निमोठ्ने प्रयास गरिरहेको देखिन्छ । मुलतः स्थानीय तहमा यसको प्रभाव स्पष्ट देख्न सकिन्छ । विशेष गरेर स्थानीय तह निर्वाचनपश्चात् नव–निर्वाचित जनप्रतिनिधिहरुमा संघीयताप्रतिको बुझाईको कमिले या नयाँपनले हो । संघीयताको दुरुपयोग भयो कि भन्ने भानचाहिँ पछिल्लो समय नागरिकहरुमा देखिन गएको छ । यतिबेला जनप्रतिनिधिहरु बढी सुविधाभोगी भएको छ । अधिकारको हिसाबले हेर्ने हो भने पनि प्रदेशभन्दा स्थानीय तह नै बढी बलियो देखिएको छ ।
जनप्रतिनिधिहरुको सुविधामोहले संघीयतालाई खतरातिर लैजाने हो कि भन्ने त्रास चाहिँ पछिल्लो समय उत्पन्न हुन गएको छ । स्थानीय तहका जनप्रतिनिधिहरु संघ र प्रदेशको कानुनलाई पनि मिच्न थालेका छन् । जनप्रतिनिधिहरु सङ्घ र प्रदेशको नियमविपरित विलासी गाडीहरु खरिद गर्ने प्रचलनले पनि संघीयता कार्यन्वयनमा प्रश्न चिन्ह खडा गरेको छ । जनप्रतिनिधिहरु यतिबेला संघीयता कार्यान्वयन गर्नतर्फ भन्दा पनि महङ्गो गाडी कस्ले चढ्ने भन्नेमा प्रतिस्पर्धा गर्न थालेका छन् । कसको स्थानी तह राम्रो र नमूना बनाउने भन्नेमा जनप्रतिनिधिहरुको त्यति साह्रो चासो देखिएन । जनप्रतिनिधिहरुमा विकासको भिजन समेत राम्रो छैन । उनीहरुमा विलासिताको भिजन मात्र विकास भएको देखिन्छ । यस्ता कार्यले संघीयतालाई कुनै न कुनैरुपले असर पुर्याइरहेको छ । आफ्नो स्थानीय तहमा स्रोत र साधनको पहिचान गर्न नसक्नु जनप्रतिनिधिहरुको मुख्य कमजोरी हो । भएका स्रोत र साधनहरुलाई सहि स्थानमा प्रयोग गर्न नसक्नु पनि अर्को कमजोरीको पाटो हो ।
अर्कोतर्फ जनप्रतिनिधिहरुमा विकासको भिजन निकै कम रहेको छ । पछिल्लो समय उनीहरुमा डोजरले सडक खन्नुनै सबैभन्दा ठूलो विकास भन्ने भान परेको छ । नेपाली उखान ‘नहुने मामा भन्दा कानो मामा’ जाति भनेजस्तो सडकै नभएको स्थानमा सडक नहुनु भन्दा सडक भएकै जाति हो तर जथाभावी सडक खन्ने प्रवृत्ति भने पक्कै गलत हो । सडक खन्दा समेत वैज्ञानिक र प्राविधिक पक्षहरु निकै कमजोर पाइएको छ । डोजरमा चढेर औलाले देखाउदै सडक खन्ने प्रवृतिले भोलि ठूलै प्रकृतिक विपक्ति ननिम्त्याउला भन्न सकिन्न । त्यसैले यति बेला संघीयतालाई हाक्ने जनप्रतिनिधिहरुमा स्पष्ट विकासको खाका हुन जरुरी छ । विकासको स्पष्ट खाका निर्माण गरेर त्यसलाई दृढताको साथ कर्मचारीहरुलाई कार्यान्वयन गर्न लगाउनु पर्दछ । विना योजना कर्मचारीले काम गरेन भन्दै कर्मचारीमाथि खनिने प्रवृत्तिको पनि अन्त्य गर्नु सिक्नुपर्दछ ।
बितेको १ वर्ष विशेषत स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिहरुको राम्रै प्रतिस्पर्धा चल्यो । जसलाई इलेक्टेड भर्सेस सेलेक्टेडको संज्ञा समेत दिइयो । धेरै समय जनप्रतिनिधिविहिन बसेको स्थानीय तहलाई कर्मचारीहरुले मात्रै चलाए । त्यसमा कर्मचारीको भन्दा पनि शासन सञ्चालन गर्ने राजनीतिको मुख्य दोष थियो । धेरै लामो समयपश्चात् स्थानीय तहमा निर्वाचित नव जनप्रतिनिधिहरुमा ठूलै दम्ब देखियो । उनीहरुको पहिलो प्रहार नै कर्मचारीविरुद्ध भयो । अर्कोतर्फ वर्षौंदेखि स्थानीय तह हाँक्दै आएको कर्मचारीहरु पनि उनीहरु देखेर डराउने कुरै भएन । बितेको एक वर्ष स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको बीचमा राम्रै शितयुद्ध चल्यो । जनप्रतिनिधिहरुको समय अवधि छोटो छ कर्मचारीहरुको भने जनप्रतिनिधिहरुको तुलनामा लामो छ । जनप्रतिनिधिहरुमा पछिल्लो एक वर्षको समय कर्मचारी फेर्नको लागि भन्दै मन्त्रालय धाउँदैमा दिन गए । पछिल्लो समय उनीहरुले के निश्कर्ष निकाले भने मिलेर काम गर्नुको विकल्प छैन अबको ४ वर्ष राम्रो काम गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ । भने अर्कोतर्फ कर्मचारीसँग मिलेर काम गर्नुको विकल्प नभएको निष्कर्ष जनप्रतिनिधिहरुको रहेको छ । यसलाई संघीयता कार्यन्वयन हुने लक्षणको रुपमा लिइएको छ ।
अन्त्यमा, जनप्रतिनिधि, कर्मचारी र नागरिक सबैको भूमिका संघीय शासन प्रणालीमा बराबरी रहेको हुन्छ । त्यसैले संघीय प्रणाली सफल बनाउन सबैले आफ्नो ठाउँबाट लाग्नु पर्दछ । जनप्रतिनिधिहरु सुविधाभोगीभन्दा विकासप्रेमी हुन जरुरी छ । उनीहरुमा विकासको दृष्टिकोण र भावना हुन जरुरी छ । साँच्चै कर्मचारीहरु सच्चा राष्ट्रसेवक हुन् भने सरकारको योजनालाई सफल बनाउनतर्फ लाग्नुपर्दछ । सरकारले खटाएको स्थानमा दृढताको साथ काम गर्नुपर्दछ । नागरिकहरु पनि सरकारले निर्माण गरेको घेराभित्र बस्न सक्नुपर्दछ । आफ्नो दायित्व र अधिकारको प्रयोग भरपूर मात्रामा गर्नु जान्नु पर्दछ । संघीय शासन प्रणाली ठिक छ भन्दै रोज्न जान्ने नागरिकहरुले राज्यलाई कर पनि तिर्न जान्नुपर्दछ । यी सबैको समिश्रण भयो भने संघीय प्रणालीले गरी खानेमा कुनै शंका छैन । यी तीन तत्वहरु मध्ये एउटा तत्व फेल खायो भने पनि संघीयताले फेल खाने सम्भावना रहेको छ ।
October 5, 2018 11:45 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।